नेपालको राजनैतिक विकासक्रममा
राजनैतिक दलका चरित्र
जहिल्यै घर भँडुवा स्वादमा मात्र देखा परेको छ ।
यो फगत उसको विरासतको आचरण हो ।
मानविय सभ्यतामा दलिय विकासक्रम भलै
आधारभूत मानवअधिकार भए होलान ।
तर नेपालमा यो जहिल्यै सामाजिक फेब्रिकमा
ओछ्यान मुतुवा मात्रै भएको छ ।
कत्ति ठुलो होक्स थियो,
राजनैतिक स्थिरताको अलापमा
बनाइएको एमाले–कांग्रेसको गठबन्धन ।
सबै झुक्किए पनि, हो न हो
मुलुकमा राजनैतिक स्थिरताको लागि
ठुला ठुला दलको सत्ता साझेदारी
फलदायक हुन्छ कि भनेर ।
तर, दलीय चरित्रको पुच्छर बांगो बांगै ।
कुकुरको औकात पनि होइन न त आदत नै,
पुच्छर बंग्याएर हिँड्नु ।
बरु पुच्छरलाई ढुँग्रोमा राखेर सोझ्याउने
अभ्यास भने नेपालीको हो ।
बांगो पुच्छर यो धर्तीको प्राकृतिकता हो ।
यससित मुख्र्याइँ देखाइनु मात्रै उदेक लाग्दो विषय हो ।
नेपालका राजनैतिक दलहरुसित
सोझो पुच्छरको अपेक्षा गर्नु
नेपाली मनोसामाजिकता मात्रै हो, अर्थोक हुँदै होइन ।
यतिखेर,
दुई शक्तिशाली ठुला पार्टीको स्थिरता रणनीति
ढुंग्रोमा बाह्र वर्ष राखिएको पुच्छर जस्तै भएको छ ।
बांगो बांगै ।
यसलाई लिएर आशे हुनु र
बौद्धिकता देखाउनु दुबै बेकार हुन् ।
सबैले बुझेकै छन, मिलाई मिलाई
भाले खाने काले काले नै यिनै हुन् ।
वर्तमान सत्ता गठबन्धन राजनैतिक
स्थिरता मथ्ने प्वाल परेको मदानी हो ।
यो केबल भालेलाई राजनैतिक
हतियार मात्र हुन पुगेको छ ।
यसको बलमा पुग्ने गन्तव्य भनेकै निरंकुशता मात्रै हो ।
संसारमा एकाध घटना मात्रै होलान
हतियारको बलमा निरंकुशतामा पुगेको अभ्यास ।
नत्र, सबै ठाउँमा देखिएको हो,
सत्ता उन्मादले व्यक्ति र पार्टीलाई
निरपेक्ष निरंकुश बनाउंछ ।
पत्रकार दिलभूषण पाठक यो भन्ने गरिएको स्थिरताको
शरीरमा नशाा गाँठा भएर निस्किएका मात्र हुन, आमबाथ ।
कुनै बखत युएसएआइडरीको भैपरी अनुदानमा, उनी
पम्फा देवीको हल्ला मच्चाएर आन्दोलन उद्वेलित गर्थिन् ।
आज उनीमाथि मसीको छिर्को टिप्पणी हुन्छ, जब
उनी पारिवारिक प्रतिष्ठाको गणतान्त्रिक खतरा देख्छिन् ।
निरंकुशतामा उक्लिने अक्करको भीर यिनै हुन्, म्याडम ।
यहाँबाट पुगिने भनेकै जुद्ध शम्सेरको काखे शैली हो ।
सरकार राजनैतिक स्थिरतामा लाछी खास्टो ओढेर हिंड्छ ।
भन्न त विद्युतीय ऐनको दफा तेर्साइएको छ ।
तर यो निरंकुशतामा हिड्न खोजेको साहस भनेर बुभ्mदा हुन्छ ।
नेपालका पत्रकार मात्रै हुन जसले
राजनैतिक दलहरु भन्दा बढी
निरंकुशताको बुहार्तन झेलेका छन् ।
र, ती मात्रै त्यस्ता ज्याद्रो हुन, जसलाई
एमियोवेटिक प्रभावमा यो मुलुकमा भेट्न सकिन्छ ।
रक्तबिजको रुपमा उब्जिने प्रजाति ।
पत्रकार दिलभूषण पाठकको सन्दर्भमा सत्ता गठबन्धनमा
नेपाली कांग्रेस पार्टीले देखाएको ढिट्पना उदेक लाग्दो हो ।
अभिव्यक्ति स्वतन्त्रताका जुनसुकैको मोर्चामा
जहिल्यै अघिल्लो पंक्तिमा नेतृत्व दिने नेपाली कांग्रेस
आज आफ्नी जहान र भाउजुमा भास्सिंदा
प्रहार राजनैतिक स्थिरता मै हुन खोजेको छ ।
लम्पटहरुले इतिहास बिर्सिएका मात्र हुन् । (साँघु साप्ताहिक, २०८२ असार २)
प्रतिकृया दिनुहोस