• बिहीबार-असार-५-२०८२

नारायणगढ–बुटवल सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह


साँघु न्यूज डटकम | असार ५, नवलपरासी । निरन्तरको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत विनयी खोलामा पानीको बहाव अत्यधिक बढेपछि सो खण्डमा सवारी आवागमनमा अवरोध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आज एक प्रेस नोट जारी गर्दै यात्रुहरूलाई सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

 

प्रहरीका अनुसार विनयी खोलामा पानीको सतह बढ्नुका साथै विश्वकर्मा मन्दिर, झूल्नेखोलालगायत स्थानमा सडक भासिएको छ। जसका कारण सवारी साधनहरू फस्ने, बिग्रने, वा आवागमन नै असहज हुने स्थिति आएको छ।

 

“यात्रुहरूलाई जानकारी गराउँदै सवारी तथा यात्रा सञ्चालनमा विशेष ध्यान दिन अनुरोध गरिएको छ,” प्रेस नोटमा उल्लेख छ।

 

प्रहरीले निम्न वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाव दिएको छः

 

१. पूर्वबाट पश्चिम जाने सवारी साधनहरूका लागि:


नारायणगढ → मुग्लिङ → पोखरा → स्याङजा → बुटवल हुँदै गन्तव्य स्थान

२. काठमाडौंबाट पश्चिम जानेहरूका लागि:

मुग्लिङ → पोखरा → स्याङजा  → बुटवल हुँदै गन्तव्य स्थान

३. पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनहरूका लागि:


बुटवल → स्याङजा  → पोखरा → मुग्लिङ हुँदै गन्तव्य स्थान

४. साना सवारी साधनहरूका लागि:


कालिमाटीको करिडोर हुँदै गैडाकोट–पिपलडाडा सडक खण्ड प्रयोग गर्न सकिने

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूचना अधिकारी (मधु नेपाल) ले नागरिकहरूलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यकबाहेक यात्रामा ननिस्कन समेत अनुरोध गरेकी छन्।

निरन्तरको झरीका कारण पहिरो र सडक भासिने घटनाहरू बढ्दो अवस्थामा रहेकाले जिल्ला प्रहरी कार्यालयले नियमित अपडेटको पालना गर्नसमेत अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस