काठमाडौं । "धेरैले भन्छन्, सागर ढकाल आयो र मौसमी राजनीति गर्यो। तर मैले त मौसमी राजनीति गर्नुस् भनेकै हो," युवा नेता सागर ढकालको स्पष्ट भनाइ हो। उनी भन्छन्, "गर्नी नै मौसमी राजनीति हो, फुल टाइम राजनीति गर्नै पर्दैन।"
सुषान्त प्रधानको पोडकास्ट कार्यक्रममा आफ्ना विचार राख्दै ढकालले युवाहरुलाई आगामी निर्वाचन लक्षित गरेर सक्रिय राजनीति गर्न प्रेरणा दिएका छन्। उनका अनुसार, “हामी युवाहरुले काम पनि गर्नु पर्छ, खानु पनि पर्छ। जीवन गुजाराका लागि मात्र होइन, देश र समाजका लागि पनि योगदान दिन जरुरी छ।”
उनले सिधा आग्रह गरे, “८४ सालको निर्वाचनलाई टार्गेट गरेर आउनुस्। सकेसम्म चुनाव लड्नुस्। जित्नुभयो भने जनताको सेवामा लाग्नुस्, हार्नुभयो भने आफ्नो पेसामा फर्किनुस्। तर त्यो घिसिपिटी राजनीति गर्नै पर्छ भन्ने छैन।”
सागर ढकालको यो भनाइले नेपाली युवाहरुलाई ‘राजनीति भनेको पेशा मात्र होइन, जिम्मेवारी पनि हो’ भन्ने भाव उजागर गरिरहेको छ। उनका विचार यथार्थपरक छन्—राजनीति देश बनाउन प्रयोग हो, न कि सधैं त्यसैमा रमाउने एउटा लोभजन्य प्लेटफर्म।
ढकाल आफैं युवा पुस्ताबाट आएका प्रतिनिधि हुन्। उनले २०७९ सालको आम निर्वाचनमा काठमाडौं-१ बाट स्वतन्त्र उम्मेदवारी दिएर निकै चर्चा कमाए। हारे पनि निराश नभई अब फेरि युवाहरुलाई नयाँ सोच र रणनीतिका साथ राजनीतिमा आउन आग्रह गरिरहेका छन्।
नेपालमा झण्डै ५० प्रतिशतभन्दा बढी जनसंख्या युवा छन्। उनीहरुमध्ये धेरैजसो कामकाजी छन्, जागिरे छन्, विद्यार्थी छन्। ढकालको यो अपिल यिनै युवाहरुका लागि हो—“राजनीति अब तपाईं हामी सबैको हो। आउनुस्, योगदान गरौं—हाम्रो तरिकाले।”
प्रतिकृया दिनुहोस