रौतहट । सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।
डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्षकमा मुद्दा दायर गरेको थियो ।
सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।
सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल)निर्माण गरेको भन्दै मुद्दा दायर भएको थियो । बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चोधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
उनीहरुमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ । सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्वन्धी दुईवटा मुद्दा यसअघि नै दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस