काठमाडौँ । लामो समयदेखि फरार रहेका बैंकिङ कसुर, ठगी र चेक अनादर मुद्दाका तीन प्रतिवादीहरू राजधानीको विभिन्न स्थानबाट पक्राउ परेका छन् । तीनवटै फरार प्रतिवादीहरूमाथि मिलेर रु. ३९ लाख ५० हजार बराबरको आर्थिक बिगो पर्ने अपराधसम्बन्धी मुद्दा दर्ता भएका थिए ।
पहिलो पक्राउ ललितपुरको ठेचोबाट भएको हो । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेकी काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका–१० भंगालकी ४५ वर्षीया मुना खातुन श्रेष्ठलाई काठमाडाैं प्रहरीले नियन्त्रणमा लिएको हो । श्रेष्ठमाथि रु. १६ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा दर्ता थियो ।
दोस्रो पक्राउ पनि काठमाडौंमै गरिएको हो । भारतको कोलकत्तास्थायी घर भई हाल बुढानीलकण्ठ, कपन बसोबास गर्ने ३८ वर्षीय मोहमद अलीलाई प्रहरी परिसर काठमाडाैंले पक्राउ गरेको हाे । अलीमाथि रु. ११ लाख रुपैयाँ बराबरको ठगी मुद्दा दर्ता छ ।
तेस्रो प्रतिवादी भने सर्लाही ईश्वरापुर नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं, बत्तीसपुतलीमा बस्दै आएका ६५ वर्षीय अर्जुन थापा रहेका छन् । उनलाई प्रहरीले १२ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दामा पक्राउ गरेको हो ।
तीनै जनालाई सम्बन्धित मुद्दाको अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । पछिल्ला दिनमा अदालतबाट फरार रहेका आर्थिक अपराधमा संलग्नहरूलाई नियन्त्रणमा लिन प्रहरीले अभियान नै चलाएको छ ।
प्रतिकृया दिनुहोस