• सोमबार-असार-२-२०८२

मधेशमै कमजोर मधेशी नेतामा छटपटी 

 

काठमाडौं । मधेशी केन्द्रित दलहरु आन्तरिक खिचातानीलाई विर्सेर विस्तारै मोर्चाबन्दी बलियो बनाउने प्रयास थालेका छन् । मधेश केन्द्रित दलहरु जसपा,  लोसपा, जनमत, तमलोपा, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरु मिलेर बनाएको लोकतान्त्रिक मोर्चालाई सक्रिय बनाउन लागेका हुन् । यो मार्चालाई बलियो र सक्रिय बनाएर उनीहरुले मधेशीमा  शक्ति आर्जन गर्ने प्रयास गरेका छन् । त्यसरी शक्ति आर्जन गर्दा मधेशको सरकार मधेश केन्द्रित दलकै हातमा रहने परिस्थिति बनाउन सकिने बुुझाइमा देखिन्छन् ।  अहिले जनमत पार्टीले  सरकारको नेतृत्व गरिरहेको थियो ।

 

यसअघि जसपाको नेतृत्वमा सरकार रहेको थियो । त्यसैले, अबको सरकार पनि मधेश केन्द्रित दलहरुकै हातमा हुने गरी मोर्चाले शक्ति आर्जन गर्न खोजेको देखिन्छन् ।  साथै उनीहले  २०८४  हुने चुनाव लक्षित रणनीतिमा केन्द्रित भएर पनि सक्रिय हुन खोजेका छन् ।  


२०८२ जेठ ३० गते शुक्रबार मोर्चाको बैठक  बसेको थियो । त्यसमा उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयशेश त्रिपाठीदेखि अब्दुल खानसम्म सहभागी थिए । उनीहरुले यसरी मोर्चा बन्दी गरेर शक्ति  आर्जन गर्दा ०८४ चुनावमा कमजोर  नहुने संभावनाको आंकलन गरेको स्रोत बताउछ । एमाले र कांग्रेसको पकड बढ्दै गएको मधेशमा आफ्नो विरासत घुम्न थालेको मधेश केन्द्रित दलहरुमा चिन्ता देखिएको छ । त्यसैकारण अहिले मोर्चा बन्दी गर्नुपरेको उनीहरुको भनाइ रहेको छ । मुख्यगरी, हृदेयश त्रिपाठी, राजेन्द्र महतोदेखि महन्थ ठाकुरसम्मका नेताहरुले अर्को चुनाव कसरी जित्न सकिन्छ भन्नेमा चिन्तित देखिएका छन् । उपेन्द्र यादवकै लागि पनि निर्वाचन क्षेत्र सहज देखिएको छैन । अनि, वृजेशचन्द्र लाल पनि समस्यामा रहेका छन् ।  त्यसैले, आउने चुनावमा जित्नका लागि पनि मधेश केन्द्रित दलहरुमा सहकार्य हुनुपर्ने बाध्यता रहेको छ । त्यसैले  गर्दा अहिलेदेखि नै मोर्चाबन्दी गरेर संगठन गर्न खोजेको उनीहरुको भनाई रहेको छ । 


 अर्कातिर मधेश केन्द्रित दलहरुले आफ्नो एक्लो सामथ्र्यले नपुगेको अवस्थामा जनजातिहरुबाट पनि साथ लिन सकिने बुुझाइमा रहेका छन् । त्यही कारण अहिले उनीहरु आदिवासी जनजातिलाई साथ लिन प्रयास गरिरहेका छन् ।  सडक आन्दोलनको मोर्चामा पनि जनजातिलाई उपयोग गर्न सकिने बुुझाइमा रहेर उनीहरुले आदिवासी जनजातिसँग मोर्चाबन्दी गर्ने निर्णय लिएका छन् ।


  जसपाबाट अशोक राईको समूह निस्केपछि मधेश केन्द्रित दलमा  जनजातिको उपस्थिति कमजोर रहेको छ । हुन त, रकम चेम्जोङ साथमै रहेका छन्, तर कार्यकर्ता पंक्ति भने राईसँग जुटेका छन्  । त्यसैले, जसपा पछिल्ला दिनमा मधेश केन्द्रित दलकै रुपमा परिचित हुन थालेको छ । जसपाबाहेक अन्य दलहरु भने जनजाति समुदाय नभएको अवस्थामा देखिएका छन् । त्यसैले, जनजातिलाई साथ  लिएर आन्दोलनमा जाँदा आफूहरु राष्ट्रिय राजनीतिमा हावी हुन सकिन्छ भन्ने बुुझाइमा रहेको स्रोत बताउछ । त्यसैले, तामाङ, नेवार र लिम्बु समुदायसँग उनीहरुले सहकार्य बढाउन खोजेका छन् । 


 राजेन्द्र महतोले पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भएको आन्दोलनमा समर्थन गर्न बाहिर जिल्लाका केही व्यक्ति लिएर पाथिभरा क्षेत्र नै पुगेका थिए । मधेश केन्द्रित दलहरु यसरी नै जनजातिलाई फकाउन खोजिरहेका छन् । अझ राजेन्द्र महतोले पहिलादेखि नै काठमाडौंका नेवारदेखि  तामाङसम्मलाई जोड्ने प्रयास गरिरहेका हुन् । उनले बनाएको पार्टी राष्ट्रिय  मुक्तिमा बाबुछिरिङ लामा र सुमन सायमीसम्मलाई समेट्न प्रयास गरेका छन् । 
 

प्रतिकृया दिनुहोस