• सोमबार-असार-२-२०८२

जामाचो हाइकिङमा हराएका १३ वर्षीय बालककाे सेनाद्वारा उद्धार

काठमाडौं, असार १ गते । जामाचो हाइकिङबाट फर्किने क्रममा हराएका एक बालकलाई नेपाली सेनाको खोज तथा उद्धार टोलीले गम्भीर अवस्थाबाट सकुशल उद्धार गरेको छ।

 

गोंगबु गणेशथान निवासी १३ वर्षीय बालक २०८२ ज्येष्ठ ३१ गते परिवारसहित जामाचो जंगल हाइकिङमा गएका थिए। फर्किने क्रममा उनी हराएका थिए। लगातार खोजी गर्दा पनि उनमा सम्पर्क हुन नसकेपछि सुरक्षासम्बन्धी निकायमा जानकारी गराइएको थियो।

 

सोही सूचना आधारमा भैरवीदल गण, नागार्जुनबाट खटिएको नेपाली सेनाको खोज तथा उद्धार टोलीले असार १ गते बिहान उनको खोजी कार्य तीव्र बनाएको थियो। सेनाको टोलीले बालकलाई भिरबाट करिब ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको थियो।

 

घटनास्थल कठिन भू–भौगोलिक क्षेत्रमा पर्दा पनि नेपाली सेनाले जोखिम मोलेर बालकलाई उद्धार गर्न सफल भएको हो। उद्धार पश्चात् सेनाले बालकलाई आवश्यक प्राथमिक उपचार प्रदान गरेको थियो।

बालकलाई थप उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं पुर्‍याइएको छ। प्रारम्भिक जानकारीअनुसार बालकको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ तर अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ।

 

बालकको उद्धारसँगै उनका परिवारजन तथा स्थानीयवासीले राहतको महसुस गरेका छन्। सेनाको सूचक प्रतिक्रिया अनुसार, बालक जामाचो डाँडाबाट ओरालो लाग्ने क्रममा बाटो चिप्लेर फिस्लिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

 

घटनापछि स्थानीय सुरक्षा निकाय, नेपाली सेना र नेपाल प्रहरीबीच समन्वयमा खोजी कार्य तीव्र पारिएको थियो। नेपाली सेनाको उद्धार कार्यको सराहना गर्दै स्थानीयबासीले भविष्यमा यस्ता हाइकिङ मार्गहरूमा अझ सतर्कता अपनाउनु पर्ने आवश्यकता औंल्याएका छन्।

 

जामाचो क्षेत्र (नागार्जुन वनक्षेत्र) राजधानीका लागि लोकप्रिय हाइकिङ गन्तव्यमध्ये एक हो, तर त्यहाँको भौगोलिक बनावट जोखिमयुक्त पनि मानिन्छ। विशेषगरी वर्षायाम सुरु भएसँगै बाटो चिप्लो हुनुका साथै घना जंगल र भिरालो भेगले दुर्घटनाको सम्भावना बढ्ने हुँदा प्रहरी तथा सेनाले सतर्क रहन सर्वसाधारणमा आग्रह समेत गरेका छन्।

 

बालकको सफल उद्धार कार्यप्रति नेपाली सेनाको भैरवीदल गण, नागार्जुन तथा समन्वयमा संलग्न सम्पूर्ण सुरक्षा निकायप्रति धन्यवाद व्यक्त गरिएको छ।

–– साँघु न्यूज डटकम

प्रतिकृया दिनुहोस