• शनिबार-असार-७-२०८२

अध्यक्ष चयनमा उल्झिएका एमाले अखिल, बन्द सत्रबाट चुनावसम्मको किचलो


काठमाडाैं । एमाले अखिलको महाधिवेशनका परिघटना रोचक बनेको छ । अध्यक्षका  दाबेदारहरुवीच भएको शक्ति संघर्षले अखिलभित्र भाँडभैलो पनि भएको छ । आज २०८२ जेठ २७ गतेको वन्द सत्रमा अखिलको नेता  चुन्ने अन्तिम तयारी थियो । एमाले अध्यक्ष केपी ओली र जनसंगठन इञ्चार्ज भानुभक्त ढकालसमेतको प्रयासमा सर्वसम्मत अध्यक्ष चयनको प्रयास भएको थियो । 


  महासचिव शंखर पोखरेलले समेत सर्वसम्मतको प्रयासका लागि २०८२ जेठ २६ गते सोमबार राति नाम फाइनल गरे गरेका थिए । अखिलका नेताहरुका अनुसार एमाले अध्यक्ष ओलीसँग बसेर महासचिव पोखरेल र ढकालले डा. सुजन कडरियाको नाममा सहमति जुटाएका थिए ।

 

कडरियालाई अध्यक्ष बनाउने र महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेका थिए । एमालेको निर्णय अनुसार  अध्यक्ष दावेदारमध्ये कडरिया अध्यक्ष, धामी महसचिव, प्रकाश पौडेल र अञ्जना शिवाकोटीलाई उपाध्यक्ष बनाउने गरी पार्टीले सहमति जुटाएको थियो ।


   त्यही सहमति बन्द सत्रमा सुनाइएको थियो । ढकालले उक्त सहमति सुनाएका थिए । तर, हलका प्रतिनिधिहरुले उक्त प्रक्रियाको विरोध गरेका थिए । हलमा नाराजुलुससहित विरोध भएपछि विवाद बढेको थियो । उपाध्यक्षमा राखिएका पौडेल जसरी पनि चुनाव हुनुपर्ने पक्षमा थिए ।  त्यसले गर्दा झन् समस्या बढेको थियो ।


  एमाले अखिलमा यो विवाद बढ्दै गएपछि  पार्टी निर्णय नै उल्टिने अवस्था आएको छ । धामीलाई अध्यक्ष बनाउने भनेर शंकर पोखरेलले पहिला नै केही संकेतहरु दिएका थिए । रातारात  कडरियाले सुजिता शाक्यमार्फत महासचिव पोखरेललाई प्रभावमा पारेका थिए ।

 

त्यसपछि कडरियालाई साथ दिएर पोखरेल धामीलाई छोड्न बाध्य भएको एमाले अखिलका नेताहरु बताउँछन् । अर्कोपटक अध्यक्षमा अघि सार्ने गरी धामीलाई महासचिवमा बनाउन पोखरेलले प्रयास गरेका थिए ।


तर, बन्द सत्रले उक्त प्रस्ताव नै उल्टाईदिएको छ । र चुनावी प्रक्रिया आरम्भ भएको छ । आज जेठ २७ गते  उम्मेदवारी दर्ता गर्ने र भोलि जेठ २८ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक भएको छ । अब अन्तिम  नामवाली कसकसको हुन्छ  भन्ने चाहिँ चासो भएको छ । कडरिया र पौडेलको प्रतिस्पर्धा हुने अनुमान पनि भइरहेको छ । 

प्रतिकृया दिनुहोस