• बिहीबार-जेठ-८-२०८२

सगरमाथा आरोहण गरेका सशस्त्र प्रहरी नायब निरीक्षक छत्याललाई सम्मान


काठमाडाैं, जेठ ८ गते। सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय गौरव बढाउन सफल भएका सशस्त्र प्रहरी नायब निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी बल, नेपालले उत्कृष्ट सम्मान सहित बधाई तथा एक तह बढुवाकाे दर्ज्यानी चिन्ह शुशोभन गरेको छ।

 

आज सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित विशेष समारोहमा संगठनका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण पाैडेललगायत उच्च प्रहरी अधिकृतहरूले छत्याललाई पुष्पगुच्छा  तथा दर्ज्यानी चिन्ह प्रदान गर्दै सम्मानित गरियाे ।

राष्ट्रिय गौरव र आत्मबलको प्रतीक


समारोहमा बोल्दै सशस्त्र प्रहरी प्रमुख  अर्यालले छत्यालको यो उपलब्धिलाई संगठन र राष्ट्रकै लागि गौरवपूर्ण इतिहासको रूपमा वर्णन गरे। उनले भने,
“सशस्त्र प्रहरी बलमा सेवा पुर्‍याउँदै सर्वाेच्च हिमालको शिखर चुम्नु अद्वितीय साहस, आत्मबल र राष्ट्रसेवाप्रतिको समर्पणको प्रतिक हो।”

 

सगरमाथा आरोहण यात्रा


दन्तबहादुर छत्यालले २०८२ जेठ ४ गते बिहान ९:२० बजे सगरमाथाको ८८४८.८६ मिटरको उचाइ चुमेर सफल आरोहण गरेका थिए। छत्यालको यो यात्रा व्यक्तिगत साहसिकताको मात्र होइन, सशस्त्र प्रहरी बलको उच्च मनोबल र शारीरिक क्षमताको प्रमाण पनि हो।

 

संगठनले दिएको प्रोत्साहन


सशस्त्र प्रहरी बल, नेपालले उत्कृष्ट कार्य प्रदर्शन गर्ने सदस्यहरूलाई हौसला प्रदान गर्न विशेष सम्मान,  एक तह बढुवा  र आन्तरिक पुरस्कार कार्यक्रमहरू संचालन गर्दै आएको छ। छत्यालको सगरमाथा आरोहणले अन्य सुरक्षाकर्मीहरूलाई पनि सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

 

समारोहमा सहभागिता


कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रवक्ता, निर्देशकहरू, मुख्य कार्यालयका विभागीय प्रमुखहरू र छन्त्यालका परिवारलगायत संगठनका वरिष्ठ अधिकृतहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

📌 स्रोत: सशस्त्र प्रहरी बल, नेपाल

प्रतिकृया दिनुहोस