• बिहीबार-जेठ-१-२०८२

📊 राजस्व समितिको प्रतिवेदन: अब कर छल्न सजिलो हुने छैन !

 

काठमाडौं, जेठ १। आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीक्रममा राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रतिवेदन पेश गरेको छ। समितिले नेपालको कर प्रणालीलाई समावेशी, प्रविधिमैत्री र पारदर्शी बनाउने उपायहरू सिफारिस गरेको छ।

 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक तथा राजस्व सचिव दिनेशकुमार घिमिरेले प्रतिवेदन अर्थमन्त्री पौडेललाई बुझाउनु भयो। उक्त प्रतिवेदनमा कर प्रणाली सुधारदेखि भन्सार र गैरकर स्रोतको उपयोगसम्मका महत्वपूर्ण सुझावहरू समेटिएका छन्।

 

🔹 कर नीति सुधारमा जोड


समितिले सबै आर्थिक क्रियाकलापलाई कर प्रणालीभित्र ल्याउन, कर आधार विस्तार गर्न र डिजिटल कारोबारमाथि विद्युतीय सेवा कर लागू गर्नुपर्ने सुझाव दिएको छ।

घर–जग्गा कारोबारजस्ता क्रियाकलापलाई व्यावसायिक रूपमा वर्गीकृत गरी करयोग्य बनाउनुपर्ने

पूँजीगत लाभकर अभिलेख प्रविधिमैत्री र पारदर्शी बनाइनुपर्ने

करदाताका तथ्याङ्क तथा आर्थिक विवरणहरूको अन्तर–आबद्धता कायम गर्नुपर्ने समितिको सिफारिस छ।

 

🔹 भन्सार प्रणाली सुधार


भन्सार प्रक्रियामा विश्वव्यापी मान्यताका मापदण्ड अनुसार मूल्याङ्कन प्रणाली अपनाउनुपर्ने उल्लेख गर्दै, समितिले भन्सार प्रणालीलाई सरल, पारदर्शी र सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताएको छ।
साथै,

आन्तरिक उत्पादनलाई संरक्षण गर्ने भन्सार नीति

व्यापार सहजीकरण सुनिश्चित गर्ने प्रणाली विकास गर्नुपर्ने सिफारिस गरिएको छ।

 

🔹 गैरकर स्रोतको पहिचान र परिचालन


समितिले सरकारको आम्दानी विविधिकरण गर्न गैरकर स्रोतहरूको पहिचान, दर पुनरावलोकन र संरचनागत सुदृढीकरण आवश्यक रहेको स्पष्ट पारेको छ।

दरहरू यथार्थपरक बनाउनुपर्ने

संग्रह प्रणाली पारदर्शी, डिजिटल र उत्तरदायित्व स्पष्ट हुने बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

 

🔹 संघीय राजस्व संरचना स्पष्ट पार्न सुझाव


संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व अधिकारको दोहोरोपन अन्त्य गर्न कानुनी स्पष्टता ल्याउनुपर्ने सुझाव दिइएको छ।

गैरकर स्रोतको प्रक्षेपण, लक्ष्य निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने संयन्त्र स्थापना गर्नुपर्ने

बजेटमा प्रतिविम्ब हुने कार्यविधिहरू निर्माण गर्नुपर्ने भनिएको छ।

 

🗣️ अर्थमन्त्री पौडेलको प्रतिक्रिया


प्रतिवेदन प्राप्त गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समितिका सुझावहरू आगामी बजेट निर्माणका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले सुधारमुखी, व्यावहारिक र समावेशी अर्थतन्त्रका लागि यस्ता सल्लाह अमूल्य हुने धारणा व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस