काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी कसुरमा रुपन्देहीस्थित भान्जा स्टोर्स एण्ड हाउस बिरुद्द उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ । बिभागले स्थायी लेखा नम्वर ३०५६६७५७७ का प्रोप्राइटर बरकत अली मियाँविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ (संशोधन सहित) को दफा २० (५) बमोजिम बैशाख २५ गते बिहीवार मुद्दा दायर गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं.७ राधाकृष्ण पथस्थित उक्त हाउसका प्रोप्राइटर मियाँले करदाताले व्यापारिक मालवस्तुको खरिदमा मू.अ.कर कट्टी दाबी गर्ने तर बिक्री गर्दा असुल नगरेको आरोप लगाइएको छ । उनले बिजक जारी नगरी माल सामान बिक्री गरेको आरोप राजश्व अनुसन्धान कार्यालय बुटवलले दावी गरेको छ । मियाँले कस्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिल बिजक तथा भन्सार पैठारीको श्रोत बिना चोरी पैठारी गरी ल्याईएको मालवस्तु बिक्री बितरण गरेको अनुसन्धानबाट खुलेको छ ।
गैह्र बिजक जारी गरी मालवस्तु बिक्री गरेको र केही मालवस्तु मौज्दात किताबमा प्रविष्टि गरे बमोजिमको परिमाणम भन्दा बढी देखिएको छ । भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको तथा केही मालवस्तुको परिमाण कम देखिनुले राजश्व चुहावट भएको ठहर कार्यालयले गरेको छ ।
यस्तै विभिन्न पक्षसमेतलाई मध्यनजर गर्दा निज प्रतिवादीले प्रस्तुत फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नुले पनि राजश्व चुहावट भएको कार्यालयले गरेको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।
निजले बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु अथवा गैह्र बिजक जारी गरी मालवस्तु बिक्री गर्नुलाई आशंकाको रुपमा हेरिएको छ । बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु र पेश गरेको मू.अ.कर विवरण भन्दा अधिक मौज्दात पसल तथा गोदामबाट फेला परेको अनुसन्धानबाट खुलेको कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
बुटवल कार्यालयले बैशाख २५ गते बिहीवार जारी बिज्ञप्तिमा मौज्दात किताब भन्दा बढी फेला परेको मालवस्तु चोरी पैठारी गरी ल्याएर बिक्री गरेको उल्लेख छ ।
कारोबार छल्ने उद्देश्यले न्यून विक्री देखाई प्रचलित कानून अनुसार नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने भन्सार महसुल, मु.अ. कर तथा आयकर नबुझाई राजस्व चुहावट गरेको स्पष्ट देखिएको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरले बिज्ञप्तिमार्फत जानकारी दिएका छन ।
निज प्रतिवादीलाई पत्राचार गर्दा कार्यालयमा उपस्थित नभएको, पक्राउ पूर्जी जारी गरी खोजी गर्दासमेत फरार रहेको कार्यालयले जनाएको छ । निजले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ से निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (ख), (छ) र (झ) बमोजिम कसूर गरेको पुष्टि भएको कार्यालयको भनाई रहेको छ ।
त्यसैले निज प्रतिवादी मियाँलाई ऐ. ऐनको दफा २ (०१) बमोजिम भन्सार चोरी पैठारीतर्फको १ करोड ५५ लाख ६६ हजार दुईसय एकासी रुपैयाँ बिगो कायम गरि मुद्दा दायर गरिएको छ ।
उता, राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन सम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी राकेश कुमार बर्मा, राजेश कुमार बर्मा, हमीद मुसलमान र जंग बहादुर बर्मा (सोनार) विरुद्ध कपिलवस्तु जिल्ला अदालत, तौलिहवामा सोही दिन अर्को मुद्दा पनि दायर गरेको छ । बिभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) दफा १८ क (१) बमोजिम सो मुद्दा दायर गरेको जानकारी दिएको छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलको अनुसन्धानबाट देखिएको तथ्य र प्रमाणबाट प्रतिवादीहरु कपिलवस्तु, शुद्धोधन गा.पा., वडा नं.–६, बिमिहाका बर्माद्वय, मायादेवी गा.पा., वडा नं. १ का हमीद र बर्माबाट भारतीय मुद्रा ५ सय र अन्य दरका गरी ४ हजार २ सय ३६ थान गरी कूल २१ लाख ३८ हजार फेला परेको थियो ।
उनीहरुले अबैध रुपमा भारतबाट नेपालसम्म ओसारपसार गर्ने गरेको तथ्य कार्यालयले अनुसन्धान पछि पुष्टि भएको दावी गरेको छ । उक्त कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा ३, ४ र ५ तथा सोही ऐनको दफा १२ को अधिकार बिपरित रहेको बताइन्छ ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, विदेशी विनिमय व्यवस्थापन विभागले २०७८ पुष २३ गते जारी गरेको एकीकृत परिपत्र २०७८ को दफा (७) मा भएको व्यवस्थाले उक्त कार्य निषेध गरेको कार्यालयको ठहर छ । प्रतिबादीहरुको साथबाट बरामद भएको रकम नेपाली रुपैंया ३४ लाख २४ हजार सात मात्र हुने आउँछ । विदेशी मुद्रासहित यूपी ५५ एम ०४५९ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको थियो ।
विदेशी विनिमय अपचलनको कसूरमा प्रयोग भएको माथि उल्लेखित रकम बिगो कायम गरी उक्त सवारी साधनलाई कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत ) ऐन, २०७० को दफा ११ बमोजिमसमेत जफतको माग गरिएको बिभागकी उपमहानिर्देशक एव प्रवक्ता कृष्ण कुमारी श्रेष्ठले प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएकी छिन ।
प्रतिकृया दिनुहोस