• आइतबार-बैशाख-७-२०८२

फुड बैंकलाई मुक्तिनाथ क्यापिटलको परामर्श सेवा


काठमाडौं, वैशाख ७ । मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेडबीच संस्थागत परामर्श सेवा प्रदान गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।

 

एक औपचारिक कार्यक्रममा मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

 

सम्झौताअनुसार, मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ फुड बैंकलाई कम्पनी स्थापनादेखि लिएर प्राथमिक सेयर (IPO) निष्काशनसम्मका सम्पूर्ण प्रक्रियामा आवश्यक परामर्श सेवा प्रदान गर्नेछ।

 

संस्थागत परामर्श सेवामार्फत पूँजी संरचना परिवर्तन, हकप्रद शेयर निष्काशन, पूँजी संकलन तथा प्रबन्धपत्रमा उल्लेखित उद्देश्य अनुरूप कार्यसम्पादनमा सहजीकरण गरिने जनाइएको छ।

 

मुक्तिनाथ फुड बैंक लिमिटेडले आउँदो २०८२ वैशाख १७ गते बस्ने विशेष साधारण सभामार्फत हकप्रद शेयर पारित गरी चालु आर्थिक वर्ष २०८१/८२ भित्र ४० करोड चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ। साथै, आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई शेयर निष्काशन गर्ने योजना समेत कम्पनीले सार्वजनिक गरेको छ।

 

कृषिमा आधारित सहायक कम्पनी

 

मुक्तिनाथ फुड बैंक लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनीका रूपमा २०७९ सालमा स्थापना भएको हो। कृषि मूल्य श्रृंखला विकासमा क्रियाशील कम्पनीले नेपालमै उत्पादित, गुणस्तरीय तथा सुलभ खाद्य वस्तु उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्य लिएको छ।

 

कम्पनीका अनुसार, खाद्यान्न उत्पादनदेखि संकलन, प्रशोधन र बजारीकरणसम्मका सबै चरणलाई व्यवस्थित गर्दै उपभोक्ताको हक हित र कृषकको बजार सुनिश्चितता गर्ने दीर्घकालीन रणनीतिमा कम्पनी अघि बढिरहेको छ।

 

मुक्तिनाथ क्यापिटलले विगतदेखि नै विभिन्न क्षेत्रका कम्पनीहरूलाई परामर्श सेवा दिँदै आएको र यो सम्झौता भविष्यका लागि सशक्त साझेदारीको रूपमा रहने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस