काठमाडौं, वैशाख ७। सशस्त्र प्रहरी बल नेपालको कमाण्ड तथा स्टाफ कोर्षको नवौँ समूहको समापन र दशौँ समूहको उद्घाटन विशेष समारोहबीच सम्पन्न भएको छ। समारोह सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोक स्वयम्भूमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुका साथै दशौँ कोर्षको औपचारिक सुरुवात गर्नुभयो। उहाँले यो कोर्षले संगठनका अधिकृतहरूको व्यावसायिक दक्षता, विश्लेषणात्मक सोच र रणनीतिक नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो। ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’ पुरस्कार सशस्त्र प्रहरी नायव उपरीक्षक पंकज पौडेललाई प्रदान गरियो भने ‘बेस्ट रिसर्च अवार्ड’ सशस्त्र प्रहरी नायव उपरीक्षक वासुदेव महतले प्राप्त गर्नुभयो।
त्यस्तै, सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेतीलाई ‘बेस्ट एकेडेमिक अवार्ड’ प्रदान गरिएको थियो। एकेडेमिक अवार्ड त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका प्रोफेसर डा. दुविनन्द ढकालले प्रदान गर्नुभएको थियो।
महानिरीक्षक अर्यालले कमाण्ड तथा स्टाफ कोर्षको सफल सञ्चालनमा योगदान पु-याउने त्रिभुवन विश्वविद्यालय, विषयगत विज्ञहरू र समन्वयकारी निकायहरूप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा विशेष अतिथि डा. ढकालले यस कोर्षले जस्तोसुकै सुरक्षा चुनौतीहरूको सामना गर्न सक्षम नेतृत्व निर्माणमा सशस्त्र प्रहरी बललाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उनले संगठनको दीर्घकालीन योजना र मिशन अनुरूप कोर्षले रणनीतिक सोच र व्यावसायिकता थप प्रभावकारी बनाउने बताए।
६० हप्ताको अवधि
नवौँ कोर्षमा सहभागी १४ जना प्रशिक्षार्थीमध्ये ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक, १ जना राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, तथा ४ जना सशस्त्र प्रहरी निरीक्षक थिए। आजैदेखि सुरु भएको दशौँ कोर्षमा १२ जना सहभागी छन्, जसमा ६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक, १ जना अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत तथा ५ जना सशस्त्र प्रहरी निरीक्षक रहेका छन्।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायकी पूर्व डीन प्रोफेसर डा. कुशुम शाक्य, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकृतहरू, गृहमन्त्रालयका पदाधिकारीहरू तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले सशस्त्र प्रहरी संगठनमा नेतृत्व विकास, सङ्घीय सुरक्षा वातावरणको चनाखो मूल्यांकन, र रणनीतिक योजना निर्माण जस्ता महत्वपूर्ण पक्षहरूलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
प्रतिकृया दिनुहोस