काठमाडौं, चैत २८ । काठमाडौंस्थित अमेरिकी दूतावासले गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रयासप्रति कडा चेतावनी जारी गरेको छ। चैत २७ गते बुधबार प्रकाशित विज्ञप्तिमा दूतावासले यस्ता खतरनाक यात्राले यात्रुहरूको "सुरक्षा र जीवन दुवै जोखिममा पार्न सक्ने" उल्लेख गरेको छ।
"अपराध समूह, ड्रग कार्टेल तथा मानव तस्करहरूले गैरकानुनी आप्रवासीलाई निशाना बनाउँछन्। उनीहरू हिंसा, जबर्जस्ती रकम असुली र आक्रमणका सिकार बन्न सक्छन्," दूतावासको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, गन्तव्यमा पुग्न नसकेका धेरै व्यक्तिहरू परिवारमा आर्थिक बोझ र सामाजिक बदनामी भोग्न बाध्य हुने दूतावासले चेतावनी दिएको छ।
दूतावासले अमेरिकी सीमासम्म पुग्नुअघि नै यस्ता प्रयासहरूलाई रोक्न अमेरिका पश्चिमी गोलार्धका विभिन्न देशहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ।
“हामीले सीमालाई सुरक्षित बनाएर अमेरिकी नागरिकको सुरक्षा मात्र हैन, मानव बेचबिखन र गैरकानुनी आप्रवासनले ल्याउने पीडाबाट अन्य व्यक्तिलाई पनि जोगाउने प्रयास गरिरहेका छौं,” विज्ञप्तिमा भनिएको छ।
हालैका दिनहरूमा नेपाललगायतका देशहरूबाट अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयास बढ्दै गएको रिपोर्टहरू आइरहेका छन्।
यस्तो अवस्थामा अमेरिकी दूतावासको चेतावनीले सम्बन्धित निकायलाई सतर्क गराउनुका साथै सम्भावित आप्रवासीहरूलाई सोचविचार गर्न सन्देश दिएको देखिन्छ।
प्रतिकृया दिनुहोस