काठमाडौं । राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन् । त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेका व्यक्ति पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
चौलागाईंले हुँदै नभएको जग्गा आफ्नो भनी एक व्यक्तिबाट बैनाबापत् पैसा लिए । सस्तो मूल्यमा घडेरी रहेको र घर बनाउन पनि मिल्ने भन्दै उनले बैना कागज गराएका थिए । मालपोतको अभिलेखमा हेर्दा जग्गा दर्ता नदेखिएपछि उनीविरूद्ध ती व्यक्ति उजुरी दिन पुगेका थिए ।
उनलाई दक्षिणढोकाबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । जिल्ला अदालत काठमाडौंले उनीविरूद्ध चैत २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
चौलागाईंविरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा आठ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा परेका छन् । जसमा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ बिगो रहेको छ ।
प्रतिकृया दिनुहोस