• बुधबार-चैत-२७-२०८१

बँदेल मार्ने पासोमा करेन्ट लागेर मृत्यु ,शव लुकाउने ३ जना पक्राउ

 

रौतहट, २१ चैत । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको बिद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृतक महिलाको शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका  १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न  राखेको बिद्युतीय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछि मृतक महिलाको शव लुकाउने ३ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै मृतक महिलाको शव बिहीवार अपरान्ह बरामद गर्नुका साथै संलग्न ३ जना लाई पक्राउ गरेको हो ।


गाउँकै केही मानिसले जंगली बँदेल मार्न मकैबारीमा थापेको जेआइ बिद्युतीय तारको पासोमा करेन्ट लागेर स्थानिय रूपनारायण राउतको श्रीमती ५५ वर्षीया देवी पटेलको एकसाता अघि मृत्यु भएको अनुमान गरिएको छ ।


करेन्ट लागेर महिलाको मृत्यु भएपछि पासो थाप्नेहरुले घटना लुकाउन नजिकै जङ्गलमा खाल्डो खनी शव पुरेका थिए । घटना पछी महिला बेपत्ता भएको पीडित परिवारमार्फत  जानकारी भएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले अनुसन्धान थालेको थियो ।

 

डिएसपी राजन कार्कीका अनुसार गत १४ गते देखि महिला बेपत्ता भएपनि प्रहरीमा १९ गते जानकारी आएको थियो। अनुसन्धानको क्रममा मृतक महिलाको शव बिहीबार अपरान्ह जंगलमा गाडिएको अवस्थामा बरामद भएको छ । 

साथै, घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको डिएसपी कार्कीले न्युज कारखाना लाई जानकारी दिएका छन् ।


एकसातादेखि गाडिएको मृतक महिलाको शव कुहिन सुरु भएको छ । अनुसन्धान पछि घटना बारे पूर्ण जानकारी आउने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस