काठमाडौं, २७ चैत । नेपालले चार देशीय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ ।
नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध ८ विकेटले बिजयी सुरूवात गरेको हो ।
कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । जस अनुसार नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाउन सफल भए । पहिलो विकेटका लागि कुशल र आसिफले ८१ तथा तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरेर नेपाली टोलीलाइ बलियो बनाएका थिए ।
कतारका लागि दुवै विकेट मुजिब उर रेहमानले लिएका हुन । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।
कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे भने शहजाद जामिलले ३१, मुजिब उर रेहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाएका थिए ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिन सफल भए ।
प्रतिकृया दिनुहोस