काठमाडौँ, १८ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबैखाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै उहाँले मानवता मानिसको मूल धर्म भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीले यो पर्व हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्वपूर्ण अनुष्ठान हो । यी अनुष्ठानका माध्यमबाट इस्लाम धर्मावलम्बीहरुले आफ्नो ध्यान र आत्मसंयममा वृद्धि गर्ने प्रयास गर्नुले उहाँहरुको आध्यात्मिकतालाई थप बलियो बनाउन सघाउने उपराष्ट्रपतिको भनाइ छ ।
“भाइचारा, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘ईद–उल–फित्र’ ले सबैलाई एकआपसमा मिलेर बस्न सन्देश दिनुको साथै असहाय, गरिब र सहयोगको आवश्यकता रहेकाहरुलाई मद्दत गर्नसमेत उत्प्रेरित गर्दछ । जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न पनि यो पर्वले सिकाउँदछ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।
धर्मले समता, स्वतन्त्रता, बन्धुत्व, न्याय आदिको पृष्ठपोषणमा टेवा पुगेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसले मानिसमा आध्यात्मिक रुपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्नमा सघाउने स्पष्ट पार्नुभएको छ ।
‘ईद–उल–फित्र’ ले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सबल र सुदृद्ध गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय एकता, अखण्डता र राष्ट्रियतालाई थप बलियो एवं सुदृद्ध बनाउन यो पर्वले सबैलाई प्रेरित गर्ने विश्वास उपराष्ट्रपतिको छ ।
सभामुख देवराज घिमिरे ईद उल फित्रले सबै नेपालीबीच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गर्नुभएको छ । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले यस्ता चाडपर्वले आपसी एकता, मेलमिलाप र धार्मिक सहिष्णुतालाई अझ सशक्त बनाउने विश्वास लिएको सन्देशमा उल्लेख छ । “रमजान महिनाभरको उपवास, आध्यात्मिक शुद्धता, आत्मसंयम र परोपकारको अभ्यासपछि आउने यो महान् पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्”, सन्देशमा भनिएको छ, “पारस्परिक सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्दै ईदले सबै नेपालीलाई सुदृढ राष्ट्रिय एकताको भावनामा जोड्ने विश्वास लिएको छु ।” यो पर्व इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण चाड हो ।
यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ । “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको देश हो, नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ”, सन्देशमा भनिएको छ, “यो संवैधानिक व्यवस्थाले सबै नागरिकलाई आ–आफ्नो धार्मिक एवं सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने अधिकार प्रदान गरेको छ ।” –––
प्रतिकृया दिनुहोस