नयाँदिल्ली, १९ चैत (रासस/सिन्ह्वा) : भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।
प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो। घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।
हाल उद्दार कार्य जारी छ । प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ ।
भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन् ।
---
प्रतिकृया दिनुहोस