काठमाडौं । २०८१ चैत १५ गतेको घटनापछि राजतन्त्र पक्षधरको आन्दोलनको अबको बाटो कता हो ? भन्ने प्रश्न उठेको छ । राजतन्त्र पक्षधरहरुको आन्दोलनको बाटो अनिश्चित र सहानुभूति कमजोर भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले लिने रणनीतिलाई चासोका साथ हेरिएको छ ।
अबको राजतन्त्रपक्षधरको आन्दोलन सम्हाल्न भने केही समय लाग्ने देखिन्छ । दलहरुले आफ्नो दुश्कर्म सुधार नगर्दा चाहिँ जहाँ जतिबेला पनि आन्दोलन भड्किन सक्छ भन्ने संकेत २०८१ चैत १५ गते शुक्रबारले पुष्टि गरेको छ ।
घटनाक्रमले पूर्वराजा शाहले दुुर्गा प्रसाईंलाई अगाडि सारेर फिल्ड कमान्डर तोकेका देखिन्छ । तर, तिनै कमान्डरका कारण शुक्रबारको आन्दोलन हिंसात्मक मोडमा पुुग्यो राजतन्त्र पक्षधरहरुको आन्दोलन एक हदमा ब्याक भएको छ ।
राजतन्त्र पक्षधरको आन्दोलन 'सेटब्याक' भएको अवस्थामा अबको नीतिले तुलनात्मक रुपमा सम्हाल्न समय लिने देखिन्छ । चैत १५ गते शुक्रबारको आन्दोलनभन्दा अघिल्लो दिन प्रसाईंले पूर्व राजा शाहसँग निर्मल निवासमा भेट गरेका थिए । त्यो भेटलाई निकै चासोको साथ लिइएको थियो ।
राजेन्द्र लिङ्देन कमल थापाजस्तो नेताहरुलाई बाइपास गरेर पूर्व राजा शाहले अराजनीतिक व्यक्ति प्रसाईंलाई जसरी महत्व दिएका छन्, त्यसले केही आशंका भने जन्माएको छ । त्यो आशंका बिचमा प्रसाईंको बल कहाँबाट प्राप्त भइरहेको छ भन्ने प्रश्न उठ्नु पनि अस्वभाविक छैन ।
पूर्व राजा शाहको इच्छासँगै एकथरी भारतीयहरुको चाहनामा प्रसाईं अघि बढेको हुनसक्ने अनुमान गरिएको छ । भारतीय मिडियाले पछिल्ला दिनमा गरिरहेको 'व्यापक कभरेज' र 'राजतन्त्र पक्षको माहोल बनाउने' गरी भइरहेको रिपोर्टिङले पनि त्यसलाई बल दिइरहेको छ । सडकमा निस्किने भिडलाई आक्रमक बनाउने कमान्डरको रुपमा प्रसाईंलाई प्रयोग गर्ने तर स्थापित हुन नदिने लाइनमा रहेको जस्तो पनि देखिन्छ ।
किनभने भारतीय मिडियाले राजतन्त्र पक्षधरको आन्दोलनलाई प्राथमिकतासाथ प्रकाशन र प्रशारण गरिरहेका छन् तर प्रसाईंलाई भने एकरत्ती प्राथमिकता दिएका छैनन् । त्यसैले मास परिचालनमा प्रसाईंलाई शक्ति केन्द्रले प्रयोग गर्ने तर नेता स्थापित नगराउने लाइनबाट प्रेरित भएको जस्तो देखिन्छ ।
त्यसरी हेर्दा, प्रसाईंमा शक्ति पूर्व राजा शाहमात्र होइन, भारतीयहरुको एउटा पंक्तिको संरक्षण रहेको अनुमान पनि गरिएको छ। त्यसो त, २०८१ चैत १५ गते शुक्रबारको हिंसाको मुख्य हिस्सेदार प्रसाईं नै हुन । प्रसाईंले प्रहरीको घेरा ताेडेर प्रहरीलाई नै सिध्याउने गरी गाडी हाेमेकाे र सम्पर्कमा हुँदासमेत प्रसाईं पक्राउ नपर्नुले पनि सन्देह सिर्जना भने गरेको छ । प्रसाईं अहिलेसम्म पक्राउ नपर्नुमा दुुईवटा कारण देखिन्छ । एक, प्रहरीसँग सूचनाको अभाव रहेको हुन पनि सक्छ ।
सूचना अभावका कारण प्रसाईंको लोकसेन ट्रयाक गर्न नसक्दा प्रहरीले गिरफ्तार गर्न नसकेको जस्तो देखिन्छ । किनभने रविन्द्र मिश्र र धवलशमशेर राणालाई त्यही रात पक्राउ गरियो । उनीहरुकाे आआफ्नै निवासबाट गिरफ्तार गरियो ।
उनीहरुले घटनालाई सामान्य अर्थमा लिएकै कारण घरमा बसेको हुनसक्ने आंकलन गरिएको छ । तर, प्रसाईं भने त्यही घटनापछि रहस्यमय ढंगले भूमिगत भइसकेका छन् । त्यसले गर्दा प्रहरीसँग सूचनाको अभाव रहेको अनुमान गरिन्छ ।
अर्को चाहिँ मिलेमतो र सुरक्षा विश्लेषण रहेकाे छ । यदि प्रहरीसँग सूचना भएर पनि प्रसाईं गिरफ्तार नभएको हो भने उनी पक्राउ गर्दा कतिसम्म परिस्थिति भड्किन्छ भन्ने सुरक्षा विश्लेषण भइरहेको हुनसक्छ । नेतृत्वमै समस्या रहेका कारण प्रसाईंलाई पक्राउ गर्दा अहिले नै परिस्थिति भड्किने अवस्था नहुन सक्छ । तर, प्रसाईंको पछाडि भएको शक्तिको आतंकले पनि प्रहरी पक्राउबाट पछि हटेको हुनसक्ने आंकलन भइरहेको छ ।
तर, जेजस्तो रहस्य र कारणले प्रसाईं पक्राउ नपरेको भएपनि गृहमन्त्री रमेश लेखकको कमान्ड भने जनधनकाे सुरक्षामा निकै कमजोर रहेको स्पष्ट देखिन्छ । असोजको बाढी पहिरो र डुवानको बेलामा जति भद्रगोल थियो प्रहरी कमान्ड चैत १५ गते शुक्रबारको घटनामा त्यस्तै भयो । आन्दोलनकारीलाई अन्तर्राष्ट्रिय विमानस्थल जस्ताे संवेदनशील क्षेत्रकाे छेउमै तीनकुने क्षेत्रमा सभा गर्न दिनु नै गम्भीर त्रुटि थियो ।
जसले आतंक सिर्जना गर्न सक्छन् भन्ने पूर्वआंकलन थियो भने तीनकुनेजस्तो भीआईपी क्षेत्र जहाँबाट विमानस्थलदेखि संसद भवनसम्म नजिक पर्छ, त्यस्तो क्षेत्रमा आन्दोलनका लागि किन स्पेस दिईयो भन्ने गम्भीर प्रश्न उठ्छ । त्यसका लागि गृहमन्त्री लेखक जिम्मेवार हुनुपर्छ । हिंसाको कमान्डर अराजक प्रवृत्तिका प्रसाईं जिम्मेवार भएजस्तो कमजोर सुरक्षा विश्लेषणका लागि मन्त्री लेखक पनि जिम्मेवार हुनुपर्छ ।
यद्यपि, अबको राजतन्त्रपक्षधरको आन्दोलन सम्हाल्न भने केही समय लाग्ने देखिन्छ । दलहरुले आफ्नो दुश्कर्म सुधार नगर्दा चाहिँ जहाँ जतिबेला पनि आन्दोलन भड्किन सक्छ भन्ने संकेत २०८१ चैत १५ गते शुक्रबारले पुष्टि गरेको छ ।
दस हजार सुरक्षाकर्मी परिचालन भनेर बाहिर जति नै सुरक्षाको कुरा गरे पनि आन्दोलन भड्कियो भने जहाँ जतिबेला जेमा पनि आगजनी हुनसक्छ र प्रहरी सुरक्षा दिन सक्षम छैन भन्ने सन्देश पनि चैत १५ गते शुक्रबारले देखाएको छ ।
सुरक्षा निकायमा हुने सूचनाको अभाव पनि त्यसरी नै महसुस गरिएको छ । त्यसैले, अबको आन्दोलनमा गृहमन्त्री लेखकको सक्षमता देखिन सकेन भने मुलुकलाई गम्भीर क्षति पुग्ने निश्चित छ ।
प्रतिकृया दिनुहोस