• बुधबार-चैत-१३-२०८१

विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही

 

काठमाडौँ, १२ चैत : जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र अजरबैजानका वातावरण मन्त्री मुक्टार बाबायेभबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

 

जर्मनीको बर्लिनमा भएको सो भेटमा उहाँहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री शाहीले गत वर्ष अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–२९) को सफल आयोजनाका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा समेत गर्नुभएको थियो ।

 

मन्त्री ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी हुन यही चैत १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।

 

उक्त संवादमा विशेषगरी जलवायु परिवर्तनको अन्तरराष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

 

जलवायु वार्ताहरूमा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलोपटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी हुनुभएको हो । कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायुविज्ञ मञ्जित ढकाललगायत सहभागी हुनुहुन्छ । मन्त्री शाही यही चैत १५ गते स्वदेश फर्कनुहुनेछ ।
---

 

 

प्रतिकृया दिनुहोस