• बुधबार-चैत-१३-२०८१

पुँजीगत खर्चबारे विषयगत मन्त्रालयसँग अर्थ मन्त्रालयको छलफल


काठमाडौँ, १२ चैत : चालु आर्थिक वर्ष २०८१/८२ को पुँजीगत खर्चबारे अर्थ मन्त्रालयले अरू विषयगत मन्त्रालयहरूसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत ११ गतेसम्म पुँजीगततर्फ रु ८७ अर्ब ३३ करोड ४२ लाख मात्रै खर्च भएको छ ।

 

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च वृद्धिका लागि सक्रिय भएर लाग्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिनुभएको छ । “अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको सुरूदेखि नै गर्नुपर्ने काम र सहजीकरण गरेको छ । विषयगत मन्त्रालय पनि ‘प्रो एक्टिभ’ रूपमा प्रस्तुत हुनुहोस्”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “स्रोतको व्यवस्थापन र सहजीकरण अर्थले गर्ने हो । आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयको हो ।” अर्थमन्त्री पौडेलले बजेट निर्माण, बजेटको विनियोजन र कार्यान्वयनमा कुशलता प्रदर्शन गर्न जरूरी रहेको बताउनुभयो । 

 

अर्थ सचिव घनश्याम उपाध्यायले खर्च गर्ने क्षमताअनुसार आगामी वर्षको बजेटका लागि कार्यक्रम तथा योजना  पेस गर्न आग्रह गर्नुभयो । राजस्व सचिव दिनेशकुमार घिमिरेले बजेटको सिलिङ बाँड्दा पुगेन भन्ने र खर्च नगर्ने शैलीमा सुधार हुनुपर्ने बताउनुभयो ।

 

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट खर्च गर्न नसक्ने भए समयमै ‘सरेन्डर’ गर्न पनि विषयगत मन्त्रालयहरूलाई  निर्देशन दिएको छ । छलफलमा सहभागी विषयगत मन्त्रालयका सचिवहरूले बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धिका लागि अन्तर मन्त्रालयबीच समन्वय, रकमान्तर, भुक्तानी प्रक्रिया, नीतिगत स्पष्टता गर्दै अघि बढिरहेको र चालु आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षको भन्दा बढी पुँजीगत खर्च हुने बताएका थिए ।
---

 

प्रतिकृया दिनुहोस