• मंगलबार-चैत-१२-२०८१

रौतहटमा मुख्यमन्त्रीको निर्देशन अवज्ञा, बन्द गरिएका अस्पतालहरु निर्बाध रुपमा सञ्चालन

 

चन्द्रपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ ।

 

 

मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो ।

 

 

चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै सञ्चालन भइरहेका चन्द्रपुरका १० वटा निजी अस्पतालहरूलाई गत फागुन १७ गते मुख्यमन्त्री सिंहको निर्देशनमा बन्द गर्न आदेश दिएका थिए ।

 

 

तर, अस्पताल सञ्चालकहरूले नगरपालिकाबाट १५ सैयाको अस्पताल सञ्चालन गर्नका लागि ३५ दिनका अस्थायी अनुमतिपत्र लिएका थिए ।

 

 

यसैबीच, चन्द्रपुरस्थित हाइवेटरामा सेन्टर एण्ड रिसर्च सेन्टरमा गत आइतबार उपचाररत बिरामी ब्रजकिशोर साहको मृत्यु भएपछि यो विषयले नयाँ मोड लिएको छ ।

 

 

मुख्यमन्त्री सिंहले कुनै पनि तहबाट अस्थायी अनुमतिपत्र दिने कानुनी प्रावधान नरहेको बताउँदै विज्ञप्ति जारी गरेका थिए । त्यसपछि चन्द्रपुर नगरपालिकाले ती अनुमतिपत्र बदर गरेको थियो ।

 

 

तर, नगरपालिकाले अनुमति खारेज गरे पनि अहिले पनि ती अस्पतालहरू निर्बाध रूपमा सञ्चालन भइरहेको देखिएको छ । यस्तै, गरुडा नगरपालिकाका करिब १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिइएको भए पनि ती अस्पतालहरू मुख्यमन्त्रीको आदेश अवज्ञा गर्दै सञ्चालन भइरहेका छन् । यस घटनाले प्रदेश सरकारको निर्देशन कार्यान्वयनमा कमजोरी देखिएको स्पष्ट भएको छ ।

 

अब प्रशासनले कस्तो कदम चाल्छ भन्ने विषयमा स्थानीय बासिन्दाहरू चासोका साथ हेरिरहेका छन् ।

प्रतिकृया दिनुहोस