• शनिबार-चैत-२-२०८१

साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्छ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ, १ चैत : पूर्वराष्ट्रपति विद्यार्थीलाई विद्यादेवी भण्डारीले भाषा, कला, साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्ने बताउनुभएको छ । 

 

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आज आयोजना गरेको ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन’को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मानव सभ्यताको उद्गम हिमवतखण्डका राष्ट्रहरूबीच एकता हुनु जरुरी भएको बताउनुभयो ।

 

“हिमवतखण्ड भाषा, कला, साहित्य र संस्कृतिका हिसाबले पौराणिक भूगोल हो, यसका बारेमा अध्ययन, अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “यस्ता सम्मिलनले हिमवतखण्डभित्रको भाषा, कला, साहित्य र संस्कृतिको विकासमा मद्दत पुग्छ, नेपालीलाई एकतामा बाँध्ने काम पनि गर्दछ ।”

 

उहाँले भाषा, कला, साहित्य र संस्कृतिले नेपालीलाई भूगोल भिन्न भए पनि कला र साहित्यले भौगोलिक सीमालाई तोड्दै एकतामा सदा बाँध्ने विश्वास गर्दै यस्तो सम्मिलनले यस भूभागको गरिमालाई अझ मजबुत गराउने बताउनुभयो ।

 

“हिमवतखण्डका बारेमा विश्वले अध्ययन गरिरहेको छ”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “यो खण्डका नेपालीलाई भावनात्मक रूपमा बलियो बनाउन, प्रचीन मौलिक संस्कृतिको योग, ध्यानलाई संरक्षण गर्न जरुरी छ ।” 

 

उहाँले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको र यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको स्मरणसमेत गराउनुभयो ।

 

पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले हिमवतखण्ड भौगोलिक र आध्यात्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको र पछिल्लो समयमा पश्चात्य संस्कृतिले आक्रान्त पारेको हुनाले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

 

काशी हिन्दू विश्वविद्यालयको संस्कृत विभागका प्रमुुख प्रा डा दिवाकर प्रधानले नेपाल–भारतबीच सनातनी सम्बन्ध रहेको र आगमी दिनमा सहकार्य गरेर जान सकिनुका साथै  नेपाली भाषा–कला र संस्कृतिको संरक्षण हुने बताउनुभयो ।

 

मदन भण्डारी फाउन्डेसनका कार्यवाहक अध्यक्ष उषाकिरण भण्डारीले नेपालीको माटो सुहाउँदो विकास, भाषा, कला, साहित्य र संस्कृतिको विकास गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसनले काम गरिरहेको बताउनुभयो ।

 

मदन भण्डारी कला–साहित्य प्रतिष्ठान अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा विजय सुब्बाले हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने उद्देश्यले सम्मिलनको आयोजना गरेको जानकारी दिनुभयो । सम्मिलन आजदेखि ३ गतेसम्म चल्नेछ ।

 

सम्मिलनमा हिमवतखण्डका नेपालका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोबास गर्ने नेपालीहरू सहभागी हुनुहुन्छ ।

 

सम्मिलनमा नेपाल बाहिरबाट १० वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।  नेपालबाट सात प्रदेशबाट सातवटा र नेपाली विज्ञहरूबाट पाँचवटा गरी २२ वटा कार्यपत्रका प्रस्तुत गरिनेछ । सम्मिलनमा विदेशबाट कलाकारसहित एक सय जना आउनुभएको छ । सहभागी देशभरबाट करिब दुई सय जना तथा आयोजक, सल्लाहकार गरी जम्मा करिब एक हजारको उपस्थिति रहेको छ ।

 

सम्मिलनमा आजै पुरानो चलचित्र बसाइँ, मुनामदन पर्यटन बोर्डमा देखाइने छ । नेपाली चलचित्र, सञ्चारमाध्यममा नेपाली भाषाको प्रयोग, संस्कृति र समृद्धिमा नेपाली भाषाको प्रयोग भन्ने विषयमा छलफल हुनेछ । शनिबार विभिन्न कार्यपत्र प्रस्तुत हुने छभने आइतबार सम्मिलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । 
---

 

 

प्रतिकृया दिनुहोस