काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५ वर्ष वरिष्ठ कन्सल्ट्याण्टका रुपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
डा.पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री रोग विशेषज्ञ एमडी गरेकी हुन् । यसअघि भरतपुर अस्पतालकी रजिष्ट्रार रहिसकेकी डा.पाण्डेले प्रसूति तथा स्त्री रोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उनले नेपालमा प्रजनन् तथा महिला स्वास्थ्यका विविध आयामबारे अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेकी छन् । प्रसूति अस्पतालमा मन्त्री पौडेलले जन्मनासाथ हुने अपांगताको निःशुल्क परीक्षण आरम्भ गरेका थिए ।
यसलाई निर्देशिका बनाएर देशैभरका प्रसूति सेवा प्रदान गर्ने अस्पतालमा समेत कार्यान्वयन गरिएको छ । डाक्टर पाण्डेको नियुक्तिपछि मन्त्री पौडेलले अघि सारेको मातृ शिशु स्वास्थ्य सेवा सुधारको योजनामा थप योगदान हुने विश्वास गरिएको निजी सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस