काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का ४० वर्षीय ललितबहादुर इवारम र सोही ठाउँका ३३ वर्षीय दिपेश सुब्बा लिम्बू रहेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ मा बस्दै आएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई बसेकै स्थानबाट प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनका अनुसार उनीहरूले दुई जनालाई अमेरिका लैजाने आश्वासन दिएर ५३ लाख रुपैयाँ लिएका थिए । तर, लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा गएका थिए । पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
यस्तै, प्रहरीले विभिन्न देश लैजाने बहानामा पीडितबाट रकम ठगी गरेको आरोपमा अन्य चार जनालाई पक्राउ गरेको छ । गोरखा आरूघाट गाउँपालिका-४ की २४ वर्षीया सरु परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३ का ३२ वर्षीय जेम्स राना, कीर्तिपुर नगरपालिका-६ काठमाडौंकी ३४ वर्षीया रेखा तुलाधर र धादिङ निलकण्ठ नगरपालिका-९ का २७ वर्षीय रवि खनाललाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
परियारले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख ५० हजार, क्रोएसिया पठाइदिने बहानामा रानाले एक जनाबाट तीन लाख, जापान पठाइदिने भनी तुलाधरले चार जनाबाट १३ लाख दुई हजार र खनालले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट १४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस