कास्की । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित आफ्नै पसलमा आगो लगाउने एक जना व्यक्ति पक्राउ परेका छन् ।
न्यूरोडस्थित शर्मा आईटी हबमा यही फागुन १६ गते आगलागी भएको थियो । आगलागी हुँदा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिइ तत्काल दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
त्यस घटना पश्चात पसलधनी रमेश शर्मा लोहारले ९४ लाख क्षति भएको भनी गत १७ गते वडा प्रहरी कार्यालय वैदाममा निवेदन दिएका थिए । घटनाको बारेमा अध्ययन गर्दा शिखर इन्स्योरेन्स कम्पनीमा एक करोड बराबरको विमा गरेको पाइएपछि घटना शंकास्पद लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार कामदार बिदामा रहेको अवस्थामा गत माघ महिनामा इन्स्योरेन्स गराएको रकम दावी गरी रकम लिने दुषित मनसायको साथ आफ्नै पसलमा शर्माले आगोलागी गरेको बताए ।
उनलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रबसम्बन्धी कसुरमा सम्मानित कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस