• आइतबार-फाल्गुण-२५-२०८१

संघीय सरकार मातहतको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

 

सुर्खेत । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनस्र्थापना गर्ने कार्य भईरहेको बताएका छन् । आइतबार प्रादेशिक आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले कर्णालिको प्राकृतिक विपत्तीमा हुने जोखिम कम गर्न र प्राकृतिक प्रकोप पछिको पुनर्निर्माण, पुर्नस्थापना र राहतका लागि सरकार गम्भीर रहेको बताएका हुन् । 

 

यसअघि संघीय सरकार मातहत रहेको आपतकालिन गोदामघर कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले व्यवस्थापनसहित सञ्चालन गर्ने छ । विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री राख्ने गोदामघर संघीय सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका छन् । 

 

गोदाम घर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले पश्चिम नेपाल जोखिमको भूगोलमा रहेकोले भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहरजस्ता जोखिममा परेकाहरुको आपतकालीन उद्धार र राहतका लागि प्रभावकारी हुने बताए । 

 

आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गर्नु संघीयता कार्यान्वयनको बिषय भएको पनि गृहमन्त्री लेखकले बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्न सात बर्ष लागेको भन्दै भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको बताए । 


विपद् जोखिममा रहेको कर्णाली प्रदेशले विभिन्न किसिमका सुरक्षा कार्यक्रम अपनाए पनि विविध जटिलताहरूसँग समान गर्नुपरेको बताए । जग्गा व्यवस्थापनको अधिकार प्रदेशले नपाउँदा प्रदेशले आवश्यक संरचना बनाउन नसकिरहेको जानकारी उनले बताए ।
 

 

प्रतिकृया दिनुहोस