काभ्रेपलान्चोक । आज माझी समुदायको प्रमुख पर्व मध्ये 'लदी पूजा' अर्थात पानीलाई पूजा गर्ने दिन । पानीसँग सबैभन्दा निकट रहने माझीहरूले हरेक वर्ष फागुन महिनाकाे तेस्राे मङ्गलबार याे पर्व मनाउँछन् ।
देशभर माझी समुदाय खुसी हुने दिन आज काभ्रेको भुम्लु गाउँपालिकाका माझीहरु भने दुःखी बनेका छन् । अरु समुदायको पर्वमा सार्वजनिक बिदा दिने पालिकाले माझीहरुको पर्वलाई बेवास्ता गरेपछि भुम्लुका माझी समुदाय दुःखी बनेका हुन् ।
भुम्लु १ का युवा नेता होमराज माझीका अनुसार भुम्लुभरीमा अन्दाजी १८ सय जति माझी बस्ती छ भने वडा नम्बर १ मा ८०/९० घरधुरी छ । उक्त समुदायलाई पालिकाले बेवास्ता गर्दै आएको माझी समुदायको गुनासो छ । माओवादी पार्टीको नेता भएकोले सीमान्तकृत समुदायलाई संरक्षण गर्लान भन्ने आशले प्रेम बहादुर भुजेललाई भोट हालेर जिताए पनि माझी समुदायको लागि आश मात्र देखाएको होमराजको भनाइ छ ।
'भुजेल थरका भएकाले प्रेम बहादुर भुजेललाई भोट दिएर जिताइयो,'होमराजले भने,' तर हाम्रो समुदायलाई नै उनले विभेद गरे ।' पटकपटक पालिकामा गुनासो गर्दा पनि अध्यक्ष भुजेलले गुनासो नसुनेको होमराजको आरोप छ ।
प्रतिकृया दिनुहोस