• मंगलबार-फाल्गुण-२०-२०८१

एलपी ग्यास उद्योगीसँग ५ बुँदे सहमति, ग्यासको मूल्य भने यथावत


काठमाडौं । एलपी ग्यास उद्योगीहरुले आह्वान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगित भएका छन् । मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतिका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।


मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्यास व्यवसायीबीच भएको वार्ताबाट सहमति भएको हो । सहमतिमा फागुन १८ गते वाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरेको जानकारी गरिएको छ भने, मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्यासको आपूर्ति सहज निगमले उपसमिति बनाइ अध्ययन गरी अघि बढाउने, व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाई काम अघि बढाउने कुराहरु उल्लेख गरिएका छन् ।


मन्त्रालयमा भएको छलफल पछि एलपी ग्यासको प्रति सिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भएको छ । नेपाल आयल निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमति भएपनि उपभोक्तामाथि भने उक्त भार नथपिने निगमले जनाएको छ ।


नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्यासमा प्रतिसिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनी त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै व्यहोर्नेछ । आयल निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको निगमले जनाएको छ । अहिले दैनिक रूपमा १ लाख सलिन्डिर बिक्री हुने गरेको निगमले जनाएको छ । उद्योगीसँगको सहमतिअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डिर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ । ग्यास उद्योगीहरुसँग भएको सहमतिअनुसार आन्तरीक र बाह्य ढुवानी भाडा समायोजन भएको छ । 

 

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याहरु समाधान गर्ने बिषयमा सरकार सकारात्मक रहेको बताएकाछन् । उद्योगीका उपयुक्त मागहरु सरकारले प्राथमिकतामा राख्ने बताउँदै उनले सरकार सबैको हो भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए ।
 

 

प्रतिकृया दिनुहोस