काठमाडौं । उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन् ।
बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो । त्यसयता मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
नेपाल फर्किने बढी विद्यार्थी मोरङका छन् । मोरङका ३६ जना विद्यार्थी जोगबनी हुँदै नेपाल आएको यादवले बताए । यस्तै, सप्तरीका १६ जना र सुनसरीका ११ जना विद्यार्थी फर्केका छन् । काठमाडौं, सिरहाका ३-३ जना, सर्लाही २, जनकपुर २, ललितपुर १ र उदयपुरका १ जना विद्यार्थी फर्किएको यादवले बताए ।
लम्सालले आफूलाई कलेजमा अध्ययनरत् एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन् । तर विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन । आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी-लेखेटी कुटपिट गरेका थिए ।
उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो । नेपाली विद्यार्थीलाई सोमबारसम्म कलेज छाड्न उर्दी जारी गरिएकोमा विश्वविद्यालयले फिर्ता लिइसकेको छ ।
प्रतिकृया दिनुहोस