काठमाडाैं । एकीकृत समाजवादी (एस) पार्टी सानो तर विवाद ठूलो भइरहने पार्टीको रुपमा देखिएको छ । एसको केन्द्रीय कमिटी बैठकसँगै विवाद पनि देखिन थालेको छ ।
सम्मानित नेता झलनाथ खनालले विवादलाई अगाडि ल्याएका हुन् । महाधिवेशनमा अध्यक्ष माधवन नेपालसँग मिलेका खनाल अहिले फेरि बाँठिएर अध्यक्ष नेपालसँगै झगडा गर्न थालेका छन् ।
अध्यक्ष नेपालका निर्णयप्रति खनालले असन्तुष्टि जनाउँदै आएका छन् । केन्द्रीय कमिटीमा छलफल गर्ने गरी नेता खनालले भातृ संगठनको नेतृत्व हेरफेर गरेको र विधान संशोधन गरेको भन्दै फरकमत राखेका छन् । पार्टीले अन्तरपार्टी निर्देशन जारी गर्दा भातृसंगठन हरु अखिल र युवा संघको अध्यक्षलाई हटाएको भन्दै आपत्ति जनाएका छन् ।
अखिलको अध्यक्षमा आरती लामालाई केन्द्रीय सदस्य भएको भन्दै हटाएर महेश श्रेष्ठलाई संयोजक बनाइएको थियो । अनि, युवा संघको अध्यक्षमा पनि कृष्णकुमार विकलाई हटाइएको थियो । यी दुवै नेता खनालनिकट मानिन्थे । तर, अध्यक्ष नेपालले सर्कुलरमार्फत नेतृत्वबाट हटाएपछि खनाल रुष्ट भएका हुन् । आजबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा खनालले यो कुरा चर्कोसँग उठाउने तयारी गरेका छन् ।
त्यसैगरी, नेता खनालले महाधिवेशनबाट पारित विधान पनि मनपरी गरेर व्यापक हेरफेर गरिएको दावी गरेका छन् । सम्मानित नेता महाधिवेशनबाट चुनिने भनेर त्यतिबेला विधानमा व्यवस्था भएको भएपनि त्यसलाई हटाएर केन्द्रीय कमिटीले चुन्ने व्यवस्था राखेको आपत्ति जनाएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा महिला उपाध्यक्ष हटाएको पनि खनालको आरोप छ । त्यसैगरी, उपमहासचिव ३ जना हुने व्यवस्था भएपनि अहिले विधान छापिएर आउँदा ४ जना बनाएको भन्दै खनालको आपत्ति रहेको छ ।
त्यसैले, एसको केन्द्रीय कमिटी बैठकमा खनाल र नेपाल पक्षको विवाद फेरी सतहमा आउने देखिएको छ ।
प्रतिकृया दिनुहोस