• शुक्रबार-फाल्गुण-९-२०८१

प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी : उत्कृष्ट प्रोजेक्टहरू पुरस्कृत

काठमाडाैं । रिपुमर्दिनी सैनिक महाविद्यालयको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी-२०८१ मिति २०८१ फाल्गुण ०६ गते सफलतापूर्वक सम्पन्न भएको छ ।

यस अवसरमा प्रधान सेनापति महारथी  अशोक राज सिग्देलबाट प्रदर्शनीको अवलोकन गर्नुका साथै, प्रदर्शनीमा सहभागी विद्यालयहरूका उत्कृष्ट प्रोजेक्टहरूलाई पुरस्कार प्रदान गरिएकाे थियो।

समापन समारोहमा रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले पनि विभिन्न विधामा उत्कृष्ट छात्र-छात्राहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो। यस अवसरमा प्रधान सेनापति महारथी सिग्देल र सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलबाट संयुक्त रूपमा महाविद्यालयको वार्षिक मुखपत्र रिपुमर्दिनी रिदम को विमोचन गरिएको थियो।

प्रदर्शनीको समुद्घाटन २०८१ फाल्गुण ०४ गते बलाध्यक्ष रथी प्रदीप जंग के.सी. द्वारा गरिएको थियो। उक्त प्रदर्शनीमा विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरूका ३९ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो। कुल २५ वटा विद्यालयले प्रदर्शनीमा भाग लिएका थिए। रिपुमर्दिनी सैनिक महाविद्यालयले वि.सं. २०७७ सालदेखि प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीको आयोजना गर्दै आएको हो, र यो प्रदर्शनीको पाँचौँ संस्करण हो।

 

प्रदर्शनीको अवलोकन गर्न विभिन्न विद्यालय र महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र सर्वसाधारण उपस्थित भएका थिए। प्रदर्शनीले विद्यार्थीहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रेरणा दिने उद्देश्य राखेको छ। समापन समारोहमा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, अधिकृत, शिक्षकवर्ग तथा विद्यार्थीहरूको उपस्थिति थियो।

 

यस प्रकारको बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूमा विज्ञान र प्रविधिको महत्त्व बुझाउने र अनुसन्धानमा रुचि उत्पन्न गर्ने विश्वास व्यक्त गरिएको छ।

 

 

प्रतिकृया दिनुहोस