• शुक्रबार-फाल्गुण-९-२०८१

एपीएफ स्कूल कीर्तिपुरको २०औँ स्थापना दिवस र फुटबल प्रतियोगिता समापन


काठमाडाैं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा नेपाल एपीएफ स्कूल कीर्तिपुरको २०औँ स्थापना दिवस तथा ‘दोस्रो NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८१’को समापन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। फागुन ८ गते आयोजित उक्त कार्यक्रमले विद्यालयका २० वर्षको यात्रा र शैक्षिक, खेलकुद क्षेत्रको सफलतालाई मनाएको छ।

कार्यक्रमको प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विद्यालयको २०औँ स्थापना दिवसको अवसरमा विद्यालयलाई सहयोग पुर्याउने महानुभाव तथा संघसंस्थाहरुलाई कदरपत्र प्रदान गर्नुभयो। साथै, उहाँले ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता’को उपाधि जित्न सफल नेपाल एपीएफ स्कूल कीर्तिपुर र उत्कृष्ट खेलाडीहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेर सम्मानित गर्नुभयो। 

प्रतियोगितामा नेपाल एपीएफ स्कूल कीर्तिपुरले सैनिक आवशीय महाविद्यालय सल्लाघारीलाई ५–० गोलको अन्तरले पराजित गर्दै विजय प्राप्त गरेको हो।

महानिरीक्षक अर्यालले विद्यालयको स्थापना दिवसले विद्यालय व्यवस्थापन समिती, शिक्षक, शिक्षिका र छात्रछात्राहरुलाई थप हौसला र ऊर्जा दिने विश्वास व्यक्त गरे। उहाँले विद्यालयको शैक्षिक कार्यलाई गति र रफ्तार दिने, साथै विद्यालय परिवार, अभिभावक र सहयोगी संस्थाहरुलाई कृतज्ञता व्यक्त गर्दै, भविष्यमा विद्यालयको शैक्षिक अवस्थालाई अझ प्रगति र सुधारको दिशा दिन आवश्यक रहेको बताउनुभयो।

 

यही अवसरमा, महानिरीक्षक अर्यालले विद्यालयले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीलाई आफ्नो भविष्यलाई निर्माण गर्न मद्दत पुर्याउने कुरा बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक स्तरलाई अझ उच्च बनाउन वैज्ञानिक र समयानुकूल शिक्षण विधि अपनाउनुपर्ने आवश्यकता रहेको जनाउनुभयो।

 

साथै, शारीरिक, मानसिक, सामाजिक र व्यावसायिक जीवनमा विद्यार्थीहरुलाई खेलकुदका प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उहाँले औंल्याउनुभयो।

 

अन्तिममा, महानिरीक्षक अर्यालले विद्यालयलाई संगठनबाट दिएको साथ र सहयोगलाई निरन्तरता दिने बताउँदै, अभिभावकलाई विद्यालयका गतिविधिहरुमा अधिक सक्रिय र सहयोगी बन्न आग्रह गर्नुभयो।

 

उहाँले विद्यालयमा शिक्षा र अनुशासनको उच्च स्तरलाई कायम राख्न शिक्षक, अभिभावक र विद्यार्थीका बीचमा सामूहिक सहकार्यको महत्त्वलाई प्रस्ट पार्नुभयो।

 

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल लगायत स्थानीय भद्रभलाद्मी, अभिभावक र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।

 

यस प्रकार, नेपाल एपीएफ स्कूल कीर्तिपुरको २०औँ स्थापना दिवस र फुटबल प्रतियोगिता समापनले विद्यालयका शैक्षिक र खेलकुद उपलब्धिहरुलाई नयाँ उचाइमा पुर्याउने संकल्पका साथ भविष्यका लागि उन्नतिको मार्ग खुला गरेको छ।

प्रतिकृया दिनुहोस