• शुक्रबार-फाल्गुण-९-२०८१

'राससलाई सूचनाको भरपर्दो थलो बनाउन प्रतिबद्ध छौँ' : ६४औं वार्षिकोत्सवका अवसरमा शुभकामना


काठमाडौँ, ७ फागुन : राष्ट्रिय समाचार समिति (रासस) ६४औँ वार्षिकोत्सव मनाउँदै आजदेखि थप परिपक्वताको मार्गमा अग्रसर भएको छ । आज नै देशले ७५औँ प्रजातन्त्र दिवस पनि मनाइरहेको छ । यस अवसरमा सम्बद्ध सबैलाई शुभकामना दिन चाहन्छु । 

 

देश विदेशका निष्पक्ष तथा आधिकारिक समाचार एवं सूचना देशवासी र विदेशी माझ सहज रूपमा प्रवाह गर्न र राष्ट्रिय एकताको भावना अभिवृद्धि गरी ठोस जनमत सिर्जना गर्न मद्दत पुगोस् भन्ने हेतुले विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति गठन गरियो जसलाई पछि राष्ट्रिय समाचार समिति (रासस) मा परिवर्तन गरियो । 

 

नेपालमा विसं २०१६ पुस १ गते नेपाल संवाद समिति (नेसस) नामक समाचार एजेन्सी स्थापना भयो । संस्थापकहरु हुनुहुन्थ्यो, गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, मदन शर्मा र गणेश मानन्धर । विसं २०१७ वैशाख ३० गते नेपालमा यस्तै प्रकृतिको अर्को संस्था सगरमाथा संवाद समिति (ससंस) स्थापना भयो । यसका संस्थापक मणीन्द्रराज श्रेष्ठ, शङ्करनाथ शर्मा र पशुपतिदेव पाण्डेलगायत हुनुहुन्थ्यो । यी दुई समाचार समितिलाई गाभेर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति  बनाइयो । रासस ऐन २०१९ जारीपछि समितिले कानुनी मान्यता पायो । 

    
समाचार समिति अर्थात् न्यूज एजेन्सी भनेकै खासगरी आमसञ्चारका माध्यमहरु जस्तै अखबार, विद्युतीय माध्यमलाई समाचार सामग्री उपलब्ध गराउने संस्था हो । समाचार समितिको सामान्यतया आफ्नै प्रकाशन र प्रसारण गृह अर्थात् मिडिया आउटलेट हुँदैन । विश्वका कतिपय देशमा न्यूज एजेन्सीले पत्रपत्रिका, रेडियो या टेलिभिजन सञ्चालन गरिरहेका पाइन्छन् । ६४ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय समाचार समितिले आफ्ना ग्राहकलाई विशुद्ध सूचना तथा समाचार प्रदान गर्ने उद्देश्य राखेर समयको माग बमोजिम आफ्ना सेवालाई विविधिकरण गर्दै राष्ट्रिय-अन्तरराष्ट्रिय समाचार, तस्बिर, श्रव्यदृष्य, आलेख, विचार, अन्तर्वार्ता र मातृभाषामा समाचार सामग्री अनलाइनमार्फत प्रदान गर्दै आएको छ । 

 

परम्परागत समाचारको अर्थ अब ‘अक्षर’ वा ‘शब्द’ मा मात्र सीमित छैन । छापा माध्यम हुँदै विद्युतीय माध्यमका श्रव्य, श्रव्यदृश्य र अनलाइन, मोबाइल पत्रकारिता, पडकास्टसम्मले समाचार, समाचार सामग्री र समाचार कर्र्मका अर्थ बोकेका छन् र यी माध्यम पनि क्रमशः स्वतन्त्र विधाका रुपमा विकसित हुँदैछन् । राससलाई, न्यू मिडियाको विकाससँगै डिजिटल प्लेटफर्ममा विस्तारित हुँदै उत्पन्न भएका चुनौती र अवसरबारे, राम्रो हेक्का छ । पछिल्ला वर्षमा प्रविधिको विकासबाट समग्र सञ्चार कर्म निर्देशित हुनुपर्ने बाध्यात्मक अवस्थाको विकास भएको छ । हामी पनि यसको अपवाद हुन सक्दैनौँ । 

 

नेपालको एक मात्र आधिकारिक, विश्वसनीय तथा सत्यतथ्यपूर्ण समाचार एजेन्सी रासस पनि अन्तरराष्ट्रिय तस्बिर पत्रकारितासँगै एकाकार भएर हिँडिरहेको अवस्था गर्वको विषय हो । राससका सेवाहरुले राज्य र सरकारलाई आफ्ना गतिविधि जनतामाझ पुर्याउन सहज भएको छ नै आमसञ्चार माध्यमलाई पनि टेवा दिएको छ । राससले विविध नेपाली संस्कृति र विकास निर्माणका अनेक पक्षलाई समेटेर राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने तथा सर्वसाधारण जनता एवं नागरिक समाजमा आशा जगाउने काम गरिरहेको स्पष्ट छ । रासस आफ्नो यो भूमिका निरन्तर निर्वाह गर्न प्रतिबद्ध छ । 

 

जनताले तिरेको करबाट रासस सञ्चालित छ भन्ने कुराको हामीलाई गहिरो अनुभूति छ र यसअनुरुप जिम्मेवारी निर्वाह गर्न हामी निरन्तर तत्पर छौंँ । हामीले राज्य र सरकारहरुसँगै जनतासँग जोडिएर आफूलाई निर्देशित गर्दै सेवा विविधिकरणमा जोड दिएका छाँैं । यसैले पछिल्ला समयमा हामीले हाम्रो सामग्री सङ्कलन र प्रवाहमा सामान्य परिवर्तन गर्ने प्रयत्न गरेका छौँ र भुईं मानिसका ‘कभरेज’ लाई प्राथमिकतामा राखेका छौंँ । यसै सोचअनुसार सर्वसाधारणका विचारलाई हामीले स्थान दिने प्रयास गरेका छौंँ भने न्यू मिडियाले उपलब्ध गराएको अवसरका आधारमा हामीले श्रव्यदृश्य सेवा प्रारम्भ गरेका छौंँ, जो अहिले निकै लोकप्रिय रहेको हाम्रो बुझाइ छ । राससले पछिल्लो समयमा सञ्चार माध्यमको ‘डेडलाइन’ हुँदैन भन्ने अवधारणालाई मूर्तरुप प्रदान गर्ने क्रममा आफ्नो नेपाली समाचार सेवालाई २४ घण्टा विस्तार गरी अहोरात्र सेवा उपलब्ध गराउने जिम्मेवारी स्वीकार गरेको छ । 

 

राससले मातृभाषा (अवधि, मैथिली र नेपाल भाषा) मा समाचार सम्प्रेषणको कार्य प्रारम्भ गरेर मिडियाको संरक्षण र सम्वर्द्धनका साथै स्थानीय भाषा, साहित्य र संस्कृतिको जगेर्नाका सन्दर्भमा आफ्नो जिम्मेवारी परिभाषित गरेको छ । यसैगरी राससले पछिल्लो समयमा मिडिया सङ्ग्रहालय र बुलेटिन कक्ष स्थापना गरी यी कक्ष सर्वसाधारणको अध्ययन र अनुसन्धानका लागि खुला गरेको छ र पत्रकारिता अध्ययनको दिशामा एउटा ईंटा थप्ने प्रयत्न गरेको छ ।       

 

यतिमात्र होइन, राससले बेलाबेलामा आफ्ना ‘तस्बिर पत्रकार’ ले सङ्कलन गरेका वा खिचेका तथा राससबाट सम्प्रेषण भएका विभिन्न समयका विविध विषयका तस्बिरहरु प्रदर्शन गर्दै आएको छ । यसै क्रममा १५औँ गणतन्त्र दिवसका अवसरमा २०८० जेठ ११ गतेदेखि मसान्तसम्म ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ शीर्षकमा ७० बढी तथा १६औँ गणतन्त्र दिवसका अवसरमा २०८१ जेठ १० देखि एक महिनासम्म ‘गणतन्त्रको उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा करिब ९५ तस्बिर राखेर प्रदर्शनी आयोजना गर्न सफल भएका थियौँ । 

 

यी प्रदर्शनीमार्फत् गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने एकथरिले विकसित गर्न खोजेको भाष्य चिर्न हामी केही हदसम्म सफल रह्यौँ भन्ने हाम्रो ठम्याइ हो । यी प्रदर्शनीमा एकातिर सर्वसाधारण, प्रबुद्ध नागरिक समाज र नीति निर्माता तहमा रहेकाहरूको ठूलो आकर्षण रह्यो भने अर्कातर्फ यसैका माध्यमबाट सञ्चारजगत् र समग्र राज्यमा नै राससको उज्ज्वल छवि निर्माणमा सहयोग पुग्यो । तिनै दुई तस्बिर प्रदर्शनीलाई अभिलेखका रूपमा प्रकाशन गरी सङ्ग्रह गर्नका लागि नयाँ आयामका रूपमा ‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’ नामक फोटो किताब पनि हाम्रो वार्षिकोत्सवका अवसरमा प्रकाशित गर्ने जमर्को गरेका छौँ ।

 

अहिलेको प्रविधिगत चुनौती र अवसरका बीच आगामी दिनमा राससको सेवालाई विविधिकृत गरी व्यवस्थित गर्न, पत्रकार र प्राविधिक जनशक्तिलाई नयाँ-नयाँ विषयका तालिम र अत्यधुनिक तस्बिर उपकरण उपलब्ध गराउन, सेवालाई थप गुणस्तरीय, विश्वसनीय र विविधीकरण गर्ने प्रयास जारी राखेर समग्र सेवालाई अझ भरपर्दाे बनाएर सञ्चारजगत् र समग्र राज्यलाई सेवा गरिरहने वाचा पनि यस अवसरमा गर्न चाहन्छौँ । 
–––

 

प्रतिकृया दिनुहोस