लिस्बन (पोर्चुगल), ६ फागुन : विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली भाषीहरूको अन्तर्राष्ट्रिय संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को पोर्चुगल शाखा गठन गरिएको छ । राजधानी लिस्बनमा भएको भेलाले पोर्चुगल निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय एएनओको राष्ट्रिय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा छवि पौडेल, महासचिवमा ध्रुव ठकुरी र कोषध्यक्षमा अनु गुरुङ चयन हुनुभएको छ ।
त्यस अवसरमा एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपालीमूलका नेपाली भाषी आफ्नो पहिचान स्थापित गर्नका लागि सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संसारभर रहेका नेपाली भाषीलाई सङ्गठित गर्दै नेपालसँग सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्देश्य र परिकल्पनाका साथ एएनओको स्थापना गरिएको बताउनुभयो ।
एएनओ बोर्ड अफ ट्रस्टिका सदस्य ओमराज गुरूङले नेपालीमूलका नेपाली विश्वको जुनसुकै ठाउँमा रहे पनि आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सांस्कृतिक एकता मजबुत पार्न एएनओले सहयोग गर्ने बताउनुभयो । एसोसिएसनका युरोप संयोजक दीपक धिताल, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर एसोसिएसनका केन्द्रीय सदस्य दिपेश विष्टलगायतले आफ्नो धारणा राख्नुभएको थियोे ।
एएनओमा नेपालीमूलका नेपालीभाषीको बृहत् भेला सन् २०२४ गठन गरिएको थियोे ।
---
प्रतिकृया दिनुहोस