काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो । दुवै निकायका निम्ति आवश्यक कानुन तयार गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गराएको उहाँले बताउनुभयो ।
“नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “यस्तै सङ्घसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद् पुगेका छन् । बाँकी विधेयक यसै चालु अधिवेशनमा पु¥याउँछौँ ।”
नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्रीले बताउनुभयो । साथै उहाँले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गरेर जाने स्थान पनि रहेको बताउनुभयो । विधेयकका कमीकमजोरी संसद्मा सच्च्याउन सकिने भन्दै उहाँले चित्तनबुझेका विषयमा सकारात्मक दृष्टिकोणबाट बहस हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस