• मंगलबार-माघ-२२-२०८१

डिजिटल पत्रिकाकाे बाढी, ३ वर्षमा प्रेस काउन्सिलमा १६ सय ६६ अनलाइन सूचीकृत

काठमाडौँ २१ माघ । पछिल्लो ३ वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन् ।

 

नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखिकरण दिने क्रममा २०८१ माघ २१ गते सोमबार काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो ।

 

सो अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण  बस्नेतले विभिन्न पृष्ठभूमिबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेहरुलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने बताए  ।

 

‘स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ' बस्नेतले  बताए ।

 

प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको प्रसङ्ग ल्याउँदै बस्नेतले युट्युबसहित सामाजिक सञ्जाल प्रयोग गर्ने सबै सञ्चार माध्यम जिम्मेवार हुनुपर्ने पनि बताए ।

 

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सञ्चारकर्मी स्वंयको हात महत्वपूर्ण हुन्छ । अपूर्ण, मिथ्या, कमजोर र असन्तुलित सूचना सम्प्रेषणले प्रेस जगतलाई नै कमजोर बनाउँछ । यसतर्फ काउन्सिल सचेत भई जिम्मेवारपूर्ण ढङ्गले काम गर्दै आएको छ । अभिमुखीकरण कक्षा यसैको एउटा श्रृङ्खला हो ।' अध्यक्ष बस्नेतले भने ।

 

कार्यक्रममा अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गरेका थिए । भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरुमा केन्द्रित रहेर अन्तरक्रिया गरेका थिए ।

 

पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले नै विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उनले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने विभिन्न कामको बारेमा प्रकाश पारेका थिए ।

 

२०७८ चैतदेखि नियमित रुपमा सञ्चालन अभिमुखीकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिएका थिए  ।

 

अनलाइन सञ्चार माध्यम सञ्चालन हुनुअघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखीकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई पनि काउन्सिलले यस्तो कक्षामा सहभागी गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस