• सोमबार-माघ-२१-२०८१

वेस्ट बैङ्कमा आक्रमण हुँदा ५० जना प्यालेस्टाइनी लडाकुको मृत्यु

 

जेरुसेलम,इजरायल, २१ माघ (रासस/एएनआई) : इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पन्ध्र दिन अघि उत्तरी वेस्ट बैङ्कमा सुरू गरिएको आक्रमणमा हालसम्म ५० प्यालेस्टाइनी लडाकु मारिएको दाबी गरेको छ ।

 

जेनिन, तुल्करेम र तामुन क्षेत्रमा कारबाहीका क्रममा ३५ लडाकु मारिएको आईडीएफले जनाएको छ भने अन्य १५ जना ड्रोन आक्रमणमा मारिएका छन् । आईडीएफले यी कारबाहीका क्रममा सर्वसाधारणलाई निशाना बनाएको पनि स्वीकार गरेको छ ।

 

आईडीएफले हाल १०० प्यालेस्टाइनी लडाकुलाई नियन्त्रणमा लिएको र ४० भन्दा बढी हतियार बरामद गरेको छ । ‘अपरेसन आइरन वाल’ को क्रममा ८० भन्दा बढी विस्फोटक पदार्थलाई पनि निष्क्रिय पारिएको आइडीएफले जनाएको छ ।

 

अपरेसन २१ जनवरीमा सुरु गरिएको थियो । सेनाले उक्त अपरेसन आगामी केही हप्तासम्म जारी रहने जनाएको छ । आईडीएफले जेनिन शरणार्थी शिविरका २३ वटा भवन ध्वस्त पारेको छ, जसलाई लडाकुहरूले आफ्नो कार्यका लागि प्रयोग गरेका थिए । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्नुभयो ।

 

“युद्धमा हामीले गरेका निर्णयहरूले मध्यपूर्वको अनुहार बदलिसकेको छ । म डोनाल्ड ट्रम्पसँग एक धेरै महत्त्वपूर्ण बैठकको लागि वाशिङ्गटन जाँदैछु । राष्ट्रपति ट्रम्पले आफ्नो पदभार ग्रहण गरेपछि कुनै विदेशी नेतासँग यो पहिलो भेट हुनेछ । मलाई लाग्छ कि यो इजरायल–अमेरिकी गठबन्धनको लागि ठूलो क्षण हुनेछ ।”
---

 

प्रतिकृया दिनुहोस