• बिहीबार-माघ-१७-२०८१

एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

 

काठमाडौँ, १६ माघ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल  खेलमा सविता राना मगरको २ गोलमा एपीएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

 

एपीएफको जितमा सवितासँगै सरु लिम्बू र अनु लामाले समान एक-एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । खेलको ६९औँ मिनेटमा एपीएफकी अर्की खेलाडी सरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

 

खेलको ८३औँ मिनेटमा प्रिति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् । उपाधिसँगै एपिएफले रु १० लाख तथा उपविजेता पुलिसले रु पाँच लाख प्राप्त गरेको छ । 
---

 

 

प्रतिकृया दिनुहोस