• शुक्रबार-माघ-१८-२०८१

व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली जरूरी : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् ।  माघ १७ गते बिहीबार काठमाडौंमा आयोजित आइकनको २८औं वार्षिकोत्सव समारोहमा उनले कर प्रणालीमा चाहे अनुसारको सुधार गर्न नसकेको भन्दै व्यवसायीहरुले कर छल्न नसक्ने खालको कर प्रणाली स्थापित गर्नुपर्ने बताए ।


उनले भने, ‘हामीले करमा सुधार र राजस्व वृद्धिको कुरा गरिरहेका छौं तर पछिल्ला कतिपय तथ्यांकहरुले यो कुरा देखाएको छैन् । कर प्रणालीमा सुधारको कुरा गर्छौं र तर त्यसमा चाहे अनुसारको सुधार गर्न सकिरहेका छैनौ । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै कामहरु गर्न बाँकी छ ।’


पुँजीबजारलाई दिगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चोरीहरुलाई प्रवेश हुन नदिनको लागि आइकनले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने पनि उनको भनाई छ ।


यसको साथै, उनले सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरुलाई समाधान गर्नको लागि एकसाथ २९ वटा कानूनहरु संशोधन गर्न लागेको बताए ।


उनले भने, ‘पछिल्लो समय सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरुलाई विस्तारै समाधान गर्दै अगाडि बढ्न चाहिरहेको छ ।


 अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षण गर्नको लागि पनि सरकारले प्रयास गरिरहेको छ । एकसाथ २९ वटा कानून संशोधन गरेर सुशासन र सवा प्रवाहको सन्दर्भमा भएका समस्याहरु समाधान गर्न सरकार अगाडि बढेको छ ।’

 

प्रतिकृया दिनुहोस