• शुक्रबार-माघ-१८-२०८१

प्रेस चौतारी पत्रकारिता पुरस्कार र सम्मान पौडेल र गुरूङलाई 


पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ ।

 

प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशि २२ हजार २ सय २२ रहेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको हो । 

 

सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । स्याङ्जा सिरूबारी जन्मस्थान रही पोखरा १५ मा स्थायी बसोबास गर्दै आएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् । बिएलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसकेका छन् । 

 

पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुन् । 

 

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुन् । नेपाल फोटो पत्रकार महासंघको कास्की शाखा अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत भइसकेका पौडेल सामाजिक संस्था सिर्जना विकास केन्द्र, पोखराको पूर्व अध्यक्ष पनि बने । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित समाज सेवा युवा परिवारका संस्थापक अध्यक्ष, जनप्रिय बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन् । पौडेलले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार २०७२, सहारा क्लब पोखरा, फोटोग्राफर संघ पोखबाट सम्मान प्राप्त गरेका छन् । पोखरा ७ निवासी पौडेलले बिए अध्ययन र २ वर्षे सीएमए पनि गरेका छन् ।

 

प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । 

 

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैगरी, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भएका छन् । 

 

यसैबीच, सम्मान तथा पुरस्कार अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । सोहि दिन स्थानीय तहसँगको समन्वयमा अन्र्तक्र्रिया र प्रेस चौतारी कास्कीको नवौं अधिवेशनमार्फत् नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले जानकारी दिए । 


 

प्रतिकृया दिनुहोस