• मंगलबार-माघ-१५-२०८१

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

 

काठमाडौं । अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन् । आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो ।

 

अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन् । उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय अछामले घटनाको विवरण अहिलेसम्म बाहिर ल्याएको छैन । 

 

ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका थिए । टाउको र शरीरभरि चोट लागेको अवस्थामा दुबैको शव २० मिटर आसपास फेला परेको थियो । उनीहरू शुक्रबारै बाख्रा चराउन भनी जंगल गएका थिए ।

 

पक्राउ परेका दुबैको १८ वर्षभन्दा मुनिका रहेकाले पहिचान खुलाइएको छैन । किशोरीसँगै उनीहरू गोठालो गएको प्रहरी स्रोतले बतायो । डीएसपी भण्डारीले अहिलेसम्म घटनाको प्रकृतिबारे भन्न नसकिने बताए । ‘बलात्कार हो, हत्या हो केही भन्न सकिँदैन, पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिन्छ,’ भण्डारीले भने, ‘पोस्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ ।’

 

तीन दिनको अनुसन्धान कहाँ पुग्यो, घटनास्थलको प्रारम्भिक विवरण के हो भन्नेबारे समेत डिएसपी भण्डारी अनभिज्ञ देखिएका छन् । जंगल गएका किशोरी एक दिनसम्म नआएपछि शंका लागेर स्थानीय खोजीमा निस्किँदा शव फेला पारेका थिए । घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो । किशोरीका परिवारले घटना शंकास्पद रहेको भन्दै गहिरो अनुसन्धान गर्न माग गरेका छन् ।

किशोरीको शव भेटिएको माथिपट्टी भीर छ । माथिपट्टी भीरबाट ढुंगा झरेको देखिएको छ ।

 

 

प्रतिकृया दिनुहोस