• शुक्रबार-माघ-११-२०८१

प्रधानमन्त्री कप : आर्मीले सुदूरपश्चिमलाई हरायो

 

बैतडी, १० माघ : प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर चारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ ।

 

त्रिभुवन आर्मी क्लबले दिएको एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले पूरा निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा ९६ रन मात्रै समेटिए । उसका लागि मनिसा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाए पनि अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आर्मीका लागि बलिङ सुस्मिता भुसालले तीन विकेट हात पारिन् । 

 

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १० रन बनायो । जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन् । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन् । सुदूरपश्चिमका लागि जानकी थापाले २ विकेट हात पारिन् । 

 

आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ । आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ । माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ ।

 

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको  हो । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५ हजारका दरे पुरस्कार दिइनेछ ।
---

 

 

प्रतिकृया दिनुहोस