• बुधबार-माघ-९-२०८१

सन्दीप लामिछाने परे कारबाहीमा

 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ । आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ । सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

 

बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका थिए। अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ ।

 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो। यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन् ।

 

सन्दीपले सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन्। यद्यपि, यो प्रकरणपछि कतिपयले उनले सन्यास लिने अड्कलसमेत गरेका थिए । पछिल्लो समय उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारी समेत दिएका छन् ।

 

लामिछाने हाल नेपालका सबैभन्दा चर्चित क्रिकेटर हुन्। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगमा उनको उपस्थिति र प्रदर्शनले उनलाई ग्लोबल स्टार बनाएको छ । तर, पछिल्लो समय विवाद र प्रदर्शनमा गिरावटका कारण उनले चुनौती सामना गरिरहेका छन्।

प्रतिकृया दिनुहोस