• सोमबार-माघ-७-२०८१

छ महिनादेखि तलब नपाएपछि प्रजिअलाई साँचो हस्तान्तरण


वीरगञ्ज (पर्सा), ७ माघः यहाँको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले छ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

 

    चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म शिक्षक तथा कर्मचारीले तलब तथा अन्य सेवा सुविधा नपाएको भन्दै नगरपालिका मातहतका २० वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रजिअ गणेश अर्याललाई विद्यालयको साँचो माघ ६ गते  हस्तान्तरण गरेका हुन् । बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले २०८१ माघ २ गते बुधबारदेखि शुक्रबारसम्म साङ्केतिक विरोधस्वरुप ‘हाफ टाइम’ सम्म पढाएर विरोध गरेका थिए । नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले विद्यालय बन्द गरेको जनाएका छन् ।

 

    भङ्गी साह माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज उपाध्यायले छ महिनादेखि तलव सुविधा नपाएपछि बाध्य भएर विद्यालयको साँचो बुझाउने अवस्थामा आइपुगेको बताउनुभयो ।

 

“साउनदेखि तलबभत्ताको नाममा एक पैसा पाउन सकेका छैनौँ । हाम्रो पनि परिवार र बालबच्चा छन्,” उहाँले भन्नुभयो, “धैर्यताको बाँध टुटेपछि बाध्य भएर विद्यालयको साँचो हस्तान्तरण गरेका हौँ ।”

 

    बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्ताफाबीचको आपसी विवादका कारणले नगरपालिकाको आर्थिक गतिविधि ठप्प छ ।

 

    नगरप्रमुख तेलीले गत कात्तिक ८ गते नगरपालिकको नगरसभा सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा नगरपालिकको आर्थिक गतिविधि ठप्प बनेको हो ।

 

प्रजिअ अर्यालले नगरपालिकासँग शिक्षक तथा अन्य कर्मचारीको तलबको विषयमा पटक–पटक छलफल गर्दा पनि प्रयास सफल नभएको बताउनुभयो ।


 “हामीले यो समस्या समाधानका लागि धेरै पहल गरिसक्यौँ । तर अहिलेसम्म समस्याको गाँठो फुकाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “हामीले गर्न सक्ने अधिकतम प्रयास जारी राख्नेछौँ ।”

प्रतिकृया दिनुहोस