• आइतबार-पौष-२८-२०८१

आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुँदै

 

काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । 

 

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौंटी बुझाएर छुटेका थिए ।


त्यहाँबाट छुटे पछि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेनन् ।  जिल्ला प्रहरी कास्कीको हिरासतबाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् । ‘आइतबार भने उहाँ स्वयं जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु हुनेछ,’ उनले जानकारी दिँदै भनिन ।

 

थप रूपमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन ।

 

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

 

 

 


 

प्रतिकृया दिनुहोस