• बुधबार-पौष-१७-२०८१

एन आई सी एशिया बैंकको सहयोगमा पुस्तकालय भवन उद्घाटन

रुपन्देही, पौष १४, २०८१ । नेपालको प्रतिष्ठित बैंक एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रुपन्देही जिल्लाको सियारी गाउँपालिका स्थित पब्लिक सेकेन्डरी स्कुलमा एक नयाँ पुस्तकालय भवनको उद्घाटन गरेको छ।

 

यस पुस्तकालय भवनको निर्माण बैंकको सहयोगमा गरिएको हो, जसको उद्देश्य विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर अध्ययन वातावरणलाई थप उन्नत बनाउने रहेको छ।

 

समारोहमा सोही गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की, र उक्त विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेकाे थियो।

 

यस पुस्तकालय भवनको निर्माणपछि, विद्यालयका लगभग २७०० विद्यार्थी र शिक्षक/शिक्षिकाहरूलाई यस पुस्तकालयबाट प्रत्यक्ष रूपमा फाइदा पुग्ने अपेक्षा गरिएको छ।

 

एन आई सी एशिया बैंकले यो पुस्तकालय परियोजना केवल रुपन्देहीमा मात्रै सीमित नराखी, देशभरिका अन्य स्थानमा पनि सामुदायिक विद्यालयहरूलाई सहयोग गर्दै आएको छ।

 

यसअघि, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका, गण्डकी प्रदेशको तनहुँ जिल्लाको बन्दिपुर, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको जोशीपुर, कोशी प्रदेशको झापा जिल्लामा समेत विभिन्न विद्यालयहरूको पुस्तकालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिसकेको छ।

 

बैंकले देशभरि यी पुस्तकालय भवनहरू निर्माण गर्न कुल रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको हो। बैंकको यो पहलले लगभग ११,000 भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रुपमा लाभ दिने अपेक्षा गरिएको छ।

 

यस पुस्तकालयको माध्यमबाट विद्यार्थीहरूलाई पुस्तक पढ्न, शैक्षिक सामग्रीमा पहुँच बढाउन र समग्र शैक्षिक गुणस्तरमा वृद्धि गर्न मद्दत पुग्नेछ।

 

एन आई सी एशिया बैंकको यो पहल विद्यार्थीहरूको व्यक्तित्व विकास र शिक्षामा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ, र विद्यालयहरूले यस पुस्तकालयमार्फत शैक्षिक प्रगति हासिल गर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस