• बुधबार-पौष-३-२०८१

सिराहामा बाला सुन्दरी मा.वि.को पुस्तकालय उद्घाटन

 

काठमाडौँ, ३ पुस २०८१ – एन आई सी एशिया बैंकको सहयोगमा सिराहा जिल्लास्थित बाला सुन्दरी माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गरिएको छ। उक्त पुस्तकालय भवनको उद्घाटन २०८१ सालको मंसिर २७ गते गरिएको हो । यस पुस्तकालयको उद्देश्य विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन र अध्यापनमा सहयोग पुर्याउनु र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्नु हो।

 

यस पुस्तकालय भवनको निर्माण बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको हो। एन आई सी एशिया बैंकले बैंकको सहयोगमा विद्यालय र स्थानीय तहको सक्रिय सहभागितामा उक्त पुस्तकालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।

 

पुस्तकालय उद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष श्री उग्र नारायण यादव, बैंकका मधेश प्रदेश ६ का प्रमुख  शंकर ढकाल र सम्बन्धित विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका ११ सय भन्दा बढी विद्यार्थी र शिक्षक/शिक्षिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

 

एन आई सी एशिया बैंकले विभिन्न प्रदेशका विद्यालयहरूमा पुस्तकालय भवनहरूको निर्माण कार्य सम्पन्न गरेको छ। यसअघि, गण्डकी प्रदेशको तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–१, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको जोशीपुर गाउँपालिका–१, कोशी प्रदेशको झापा जिल्लाको बुद्धशान्ती गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–३ स्थित विद्यालयहरूमा पनि पुस्तकालय उद्घाटन भइसकेका छन्।

 

यसै गरी, मधेश प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको सियारी गाउँपालिका–४ र बाग्मति प्रदेशको चितवन जिल्लाको राप्ती नगरपालिका–७ स्थित विद्यालयहरूमा पनि पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरिएको जानकारी सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले दिएका छन्।

 

बैंकले यी पुस्तकालय भवनहरूको निर्माणका लागि कुल २ करोड ५ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। यी पुस्तकालय भवनहरूको निर्माणपछि ११ हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित हुनेछन् र यसले विद्यालयमा शैक्षिक वातावरण सुधार्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सामग्रीमा पहुँच प्रदान गर्नका साथै उनीहरूको शैक्षिक गुणस्तर र व्यक्तित्व विकासमा ठूलो योगदान पुग्ने अपेक्षासमेत गरिएको छ।

 

 

 

प्रतिकृया दिनुहोस