• बिहीबार-मङ्सिर-१३-२०८१

विकल पौडेललाई ८ वर्ष कैदको फैसला, जरिवाना साढे तीन करोड

 

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ ।

 

बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाको इजलासले पौडेलविरूद्ध उक्त फैसला गरेको हो ।

 

पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र सोही रकम जरिवाना तथा बिगो तिर्ने फैसला सुनाइएको विशेष अदालतले जनाएको छ ।

 

उनीहरू दुबैलाई अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विकल पौडेलसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 

सोही प्रकरणमा अख्तियारले तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध पनि मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाइ दिने फैसला गरेको थियो ।

 

विशेष अदालतले गत कात्तिक १४ गते पौडेलसहितलाई दोषी ठहर गरेको थियो भने बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो । फैसलाअनुसार दोषी ठहर गरिएका व्यक्तिहरूले कैदसँगै कानुन अनुसार तोकिएको जरिवाना रकम तिर्नुपर्ने विशेष अदालतले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस